'सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप छैन, निजीमा कसरी पुग्यो' : सांसद कुँवर

1.9k Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य कल्पना कुँवरले सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव हुँदा निजी अस्पताल र क्लिनिकमा भने सहजै उपलब्ध हुनुको कारणबारे सरकारसँग जवाफ माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सरकारी स्वास्थ्य संस्थामा जीवनरक्षक खोप नपाइँदा सर्वसाधारण बाध्य भएर निजी क्षेत्रबाट महँगो मूल्यमा खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको बताइन्। उनले सरकारी अस्पतालमा अभाव हुने तर निजीमा उपलब्ध हुने अवस्थाले आपूर्ति प्रणालीप्रति नै गम्भीर प्रश्न उठाएको धारणा राखिन्।

कुँवरले सरकारसँग प्रश्न गर्दै भनिन्, "सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप छैन, तर निजी अस्पतालमा कसरी उपलब्ध छ ? यसको जवाफ सरकारले दिनुपर्छ।"

उनले रेबिजको खोप समयमै नपाए संक्रमितको ज्यानसमेत जोखिममा पर्ने भएकाले यसको आपूर्ति नियमित र प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्ने बताइन्। साथै, देशभरका सरकारी स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा खोप उपलब्ध गराई नागरिकलाई निःशुल्क उपचार सेवा सुनिश्चित गर्न माग गरिन्।

सम्बन्धित समाचार