ऊर्जा परियोजना दुई महिनाभित्र सञ्चालनमा ल्याइने, महानगर र एईपीसीबीच सम्झौता

2.1k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित लामो समयदेखि बन्द रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। परियोजनाको पुनःस्थापना र दीर्घकालीन सञ्चालनका लागि काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र एईपीसीका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन्। दुवै पक्षले आगामी दुई महिनाभित्र परियोजना सञ्चालनमा ल्याउने लक्ष्य लिएका छन्।

एईपीसीका अनुसार परियोजनाको पुनःस्थापनाका लागि आवश्यक बजेट विश्व बैंकको सहयोगमा सञ्चालित मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रममार्फत व्यवस्थापन गरिनेछ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबीच भएको छलफलमा यही वर्षभित्र परियोजना सञ्चालनमा ल्याउने तथा काठमाडौंका सडकबत्तीको व्यवस्थापन र मर्मतसम्भारमा सहकार्य गर्ने विषयमा सहमति भएको थियो।

समझदारीपत्रमा हस्ताक्षरपछि कार्यवाहक प्रमुख डंगोलले निर्धारित समयमै परियोजना सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जाका अन्य परियोजनामा पनि सहकार्यलाई निरन्तरता दिइने बताइन्।

एईपीसीका कार्यकारी निर्देशक ढकालले परियोजना सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी पूरा भइसकेको र विश्व बैंकको सहयोगबाट आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिएको जानकारी दिए। उनका अनुसार आगामी दिनमा पनि फोहोरबाट ऊर्जा तथा अन्य नवीकरणीय ऊर्जा परियोजनामा महानगरसँग सहकार्य जारी रहनेछ।

समझदारीपत्रले परियोजनाको पुनर्निर्माण, सञ्चालन, हस्तान्तरण तथा दीर्घकालीन व्यवस्थापनमा महानगर र एईपीसीको भूमिका तथा जिम्मेवारी स्पष्ट गरेको छ।

पहिले सञ्चालनमा आएर बन्द भएको थियो परियोजना

युरोपियन युनियनको करिब १ करोड ८० लाख रुपैयाँ सहयोगमा निर्माण भएको टेकुको फोहोरबाट ऊर्जा परियोजना केही समय सञ्चालनमा आएपछि बन्द भएको थियो।

एईपीसीका अनुसार विश्व बैंकको सहयोगमा सन् २०१४ देखि सञ्चालन हुँदै आएको ‘नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम–विस्तारित बायोग्यास आयोजना’ अन्तर्गत नगरपालिकाको फोहोरबाट ऊर्जा परियोजना तथा ठूला व्यावसायिक बायोग्यास प्लान्टलाई सहयोग प्रदान गरिएको थियो। हाल उक्त कार्यक्रम मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको छ।

कार्यक्रममार्फत हालसम्म सात वटा नगरपालिकामा फोहोरबाट ऊर्जा परियोजना कार्यान्वयन भइसकेका छन् भने २० भन्दा बढी ठूला व्यावसायिक बायोग्यास आयोजनाले सहयोग प्राप्त गरेका छन्।

एईपीसीले देशभर नगर फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाको सम्भाव्यता अध्ययन पनि सम्पन्न गरिसकेको जनाएको छ। साथै ४८ मिलियन अमेरिकी डलर बराबरको हरित जलवायु कोषसम्बन्धी परियोजना प्रस्ताव अर्थ मन्त्रालयको सहमतिको प्रक्रियामा रहेको र पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत कार्बन परियोजना विकासको काम पनि अघि बढाइएको जनाएको छ।

केन्द्रले शहरी क्षेत्रमा कुहिने फोहोरको दिगो व्यवस्थापन, बायोग्यास उत्पादन र जैविक मलको उपयोगमार्फत चक्रीय अर्थतन्त्र (Circular Economy) प्रवर्द्धन गर्ने लक्ष्यका साथ साना, मझौला तथा ठूला बायोग्यास परियोजनालाई समेत प्रोत्साहन गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार