चितवनमा एक वर्षमै १२ करोडभन्दा बढी अनलाइन ठगी, ५२१ उजुरी दर्ता

4.9k Shares

चितवन । चितवन जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा अनलाइन ठगीका घटना उल्लेख्य रूपमा बढेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एक वर्षको अवधिमा ५२१ वटा अनलाइन ठगीका निवेदन दर्ता भएका छन् भने १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगी भएको तथ्यांक सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगी भएको रकममध्ये २ करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ पीडितलाई फिर्ता गराइएको छ। बाँकी रकम फिर्ता गराउन तथा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालमार्फत पठाइने लिंक, नक्कली अफर, उपहार परेको भन्दै प्रलोभन दिने सन्देश तथा अन्य डिजिटल माध्यम प्रयोग गरेर सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढ्दै गएको छ।

प्रहरी उपरीक्षक पौडेलले अहिले दैनिकजसो अनलाइन ठगीका उजुरी आउने गरेको जानकारी दिँदै केही घटनामा दुई सय रुपैयाँदेखि लाखौँ रुपैयाँसम्म ठगी भएको उल्लेख गरे।

उनले अपरिचित व्यक्तिबाट आएका फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्न, अनावश्यक लिंक नखोल्न, ओटीपी, पासवर्ड वा बैंकिङ विवरण कसैसँग पनि साझा नगर्न र शङ्कास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरे।

‘अनलाइनको माध्यमबाट ठगिएको महसुस भए वा शङ्कास्पद गतिविधि देखिए नजिकको प्रहरी कार्यालयमा तत्काल सम्पर्क गर्नुहोस्,’ उनले भने।

यसैबीच, गत आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ३९० वटा निवेदन दर्ता भएका छन्। तीमध्ये ३७५ वटा फर्छ्योट गरिएको छ भने १५ वटा उजुरीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ४११ वटा साइबर अपराधसम्बन्धी निवेदन दर्ता भएका थिए। तीमध्ये ३९८ वटा फर्छ्योट गरिएको थियो भने १३ वटा उजुरी बाँकी रहेका थिए।

प्रहरीले डिजिटल माध्यमको प्रयोग बढेसँगै साइबर अपराध र अनलाइन ठगीका घटना पनि बढ्दै गएको निष्कर्ष निकाल्दै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गरेको छ।

 
 
सम्बन्धित समाचार