तौलिहवा । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शिवपुराबाट जगदिशपुरतर्फ जाँदै गरेको लुप्र ०१–००३ प १५६१ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटनाका बेला मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–६ गोबरी निवासी २५ वर्षीय अक्षय श्रीवास्तव सहित सोही स्थानका २५ वर्षीय मुरली यादव र २९ वर्षीय प्रतीक जैसवाल सवार थिए।
दुर्घटनामा घाइते भएका मुरली यादव र प्रतीक जैसवाललाई उपचारका लागि जिल्ला अस्पताल कपिलवस्तु लगिएको थियो। उपचारका क्रममा चिकित्सकले मुरली यादवलाई मृत घोषणा गरेका थिए।
गम्भीर घाइते प्रतीक जैसवाललाई थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि मोटरसाइकल चालक अक्षय श्रीवास्तव फराररहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।