‘आन्दोलन पनि आफ्नै, वार्ता पनि आफ्नै’: शंकर पोखरेल

1.3k Shares

काठमाडौं । ने.क.पा. (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र धनुषालगायत तराईका जिल्लामा भएका धार्मिक हिंसात्मक घटनापछि सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिकामाथि प्रश्न उठाएका छन्।

महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै तराईमा सिर्जित तनाव, त्यसपछिका आन्दोलन तथा सरकार–रास्वपाबीच भएको वार्ताप्रति व्यङ्ग्य गरेका हुन्।

“आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त?” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनको यो टिप्पणी सुनसरीबाट सुरु भएको धार्मिक तनाव सिराहा, धनुषालगायतका जिल्लामा फैलिएको घटनाक्रमको सन्दर्भमा आएको हो। ती घटनामा तीन जनाको मृत्यु भएको थियो भने कैयौँ व्यक्ति घाइते भएका थिए।

हिंसापछि प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो। सरकारले घटनाबारे छानबिन गर्ने, पीडित पक्षसँग वार्ता गर्ने तथा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।

यता विभिन्न राजनीतिक दल तथा नागरिक समाजले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिरहेका बेला एमाले महासचिव पोखरेलको अभिव्यक्ति सार्वजनिक भएको हो।

सम्बन्धित समाचार