नेपालगञ्ज । सुनसरी र सिराहामा देखिएको साम्प्रदायिक तनावको प्रभाव नेपालगञ्जसम्म फैलिन नदिन यहाँका धर्मगुरु, राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी र प्रशासन एकै ठाउँमा उभिएका छन्। सद्भाव र्यालीमार्फत उनीहरूले सामाजिक एकता कायम राख्न र अफवाहको पछि नलाग्न सबैमा अपिल गरेका छन्।
जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा बीपी चोकबाट सुरु भएको र्याली वीरेन्द्र चोकसम्म पुगेको थियो। र्यालीमा विभिन्न धार्मिक समुदायका अगुवा, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। यो कार्यक्रम शुक्रबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार आयोजना गरिएको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कुनै पनि अपुष्ट सूचना वा अफवाहका आधारमा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न नहुन आग्रह गरे। सत्यतथ्यमा आधारित सूचनामा मात्र विश्वास गर्न र शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सबै समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

नेपालगञ्जका लागि सामाजिक सद्भाव नयाँ विषय होइन । २०५४ सालयता विभिन्न समयमा सामुदायिक तनाव र हिंसाको पीडा भोगेको यो सहरले त्यसबाट पाठ सिक्दै अन्तरधार्मिक संवादलाई संस्थागत बनाएको छ। २०६३ सालको हिंसापछि हिन्दु, मुस्लिम, बौद्ध, शिख र इसाई धर्मगुरुलाई समेटेर अन्तरधार्मिक सञ्जाल गठन गरिएको थियो, जसले अहिले पनि प्रशासनसँग समन्वय गर्दै सामाजिक सद्भाव कायम राख्ने काम गरिरहेको छ।
बागेश्वरी मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीले नेपालगञ्जको सद्भाव भत्काउने कुनै पनि प्रयास सफल हुन नदिने बताए। उनले हिन्दु र मुस्लिम समुदाय सदियौँदेखि मिलेर बसेको उल्लेख गर्दै कसैको स्वार्थका लागि समुदायलाई विभाजित हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले पनि हिंसाको विकल्प संवाद मात्रै भएको बताए। उनले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन आग्रह गर्दै धार्मिक सहिष्णुता कायम राख्न सबै समुदायलाई आह्वान गरे।
पूर्व डीआईजी तथा सुरक्षाविद् हेमन्त मल्लले संवेदनशील जिल्लामा अनुभवी प्रशासनिक नेतृत्व, नियमित सुरक्षा विश्लेषण र समुदायसँग निरन्तर संवाद आवश्यक रहेको बताए। उनका अनुसार हिंसा भइसकेपछि मात्र प्रतिक्रिया जनाउनेभन्दा पहिले नै सम्भावित जोखिम पहिचान गरेर रोकथामका उपाय अपनाउनु प्रभावकारी हुन्छ।
स्थानीय अगुवाहरूका अनुसार सद्भाव र्यालीले तत्काल शान्तिको सन्देश दिए पनि दीर्घकालीन रूपमा सामाजिक विश्वास कायम राख्न संवाद, पारदर्शिता र राज्यको सक्रिय भूमिका अपरिहार्य छ। नेपालगञ्जले फेरि एकपटक देखाएको छ। हिंसा भड्किएपछि होइन, हिंसा भड्किनुअघि नै सद्भावको अभ्यास आवश्यक हुन्छ।