लुम्बिनीमा सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन हुने, मुख्यमन्त्रीमा आचार्यकै निरन्तरता

1.4k Shares

दाङ । नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच बनेको नयाँ सत्ता समीकरणअनुसार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुगेको छ। सत्ता साझेदार दुई दलले मन्त्रालय बाँडफाँड, मन्त्रीको जिम्मेवारी र साझा कार्ययोजनाबारे छलफल गरिरहेका छन् भने सोमबारसम्म सरकारलाई पूर्णता दिने तयारी गरिएको छ।

नयाँ समीकरण बनेसँगै मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि एमाले संसदीय दलका नेता चेतनारायण आचार्यलाई नै निरन्तरता दिने सहमति भएको छ।

मुख्यमन्त्री आचार्यका अनुसार भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, पूर्वमुख्यमन्त्री लिला गिरीलगायत नेताहरूबीच भएको छलफलले उनलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय गरेको हो।

‘मलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको छ। अब सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ र सम्भवतः सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन गरिन्छ,’ आचार्यले भने।

लुम्बिनी प्रदेशमा हाल आठ मन्त्रालय कायम रहेकाले सोही संरचनाअनुसार मन्त्रालय बाँडफाँड र मन्त्री चयनको गृहकार्य भइरहेको उनले बताए।

केन्द्रमा एमाले र नेकपाबीच सत्ता सहकार्यको सहमति भएपछि लुम्बिनीमा पनि सोही समीकरणअनुसार सरकार गठनको प्रक्रिया अघि बढेको हो। यसअघि नेपाली कांग्रेसको समर्थनमा आचार्य मुख्यमन्त्री बनेका थिए। कांग्रेसले समर्थन फिर्ता लिएपछि नयाँ समीकरणअनुसार सरकार पुनर्गठनको तयारी सुरु भएको हो।

नेकपाका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले पनि मन्त्रालय बाँडफाँड र साझा कार्ययोजनाबारे सत्ता साझेदार एमालेसँग छलफल भइरहेको बताए।

‘पहिला मन्त्रालय बाँडफाँडमा सहमति हुन्छ, त्यसपछि सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउँछौं,’ महराले भने। उनले पनि सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन सम्पन्न हुने विश्वास व्यक्त गरे।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल ८३ सदस्य छन्। सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २९ र नेकपाका १३ गरी नयाँ सत्ता गठबन्धनसँग ४२ सांसद छन्। बहुमतका लागि आवश्यक थप दुई सांसदको समर्थन जनता समाजवादी पार्टी (नेपाल)बाट प्राप्त हुने भएकाले सरकार गठनमा कुनै समस्या नहुने महराले बताए।

सम्बन्धित समाचार