चन्द्रौटामा स्कर्पियो–मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

10k Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा शनिबार राति स्कर्पियो र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

शनिबार राति करिब ११ बजे लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियो र लु १४ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक शिवराज नगरपालिका–२ हल्लानगर निवासी १८ वर्षीय शिखर विक गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा सवार शिवराज–२ कै २१ वर्षीया शोभा श्रीपाली घाइते भएकी छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार