टौँडा । हेटौँडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधाममा विद्युतीय मनोरञ्जनात्मक राइड सञ्चालनमा आएको छ। धार्मिक गन्तव्यका रूपमा परिचित धाममा पहिलोपटक यस्तो पूर्वाधार थपिएपछि धार्मिक पर्यटनसँगै मनोरञ्जनात्मक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
शनिबार आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले राइडको उद्घाटन गर्दै यस्ता पूर्वाधारले धार्मिक आस्था, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई टेवा पुग्ने बताइन्। उनका अनुसार उपमहानगरपालिकाले पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ४० लाख रुपैयाँ लगानीमा यो परियोजना सम्पन्न गरेको हो।
कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिका अनुसार तीन आर्थिक वर्षमा चरणबद्ध रूपमा बजेट विनियोजन गरिएपछि विद्युतीय राइड सञ्चालनमा ल्याइएको हो। मोटरबाट चल्ने उक्त राइड करिब ५ सय फिटको गोलाकार ट्र्याकमा सञ्चालन हुन्छ। ६५ मिटर लम्बाइ र १८ मिटर चौडाइको संरचनामा दुईवटा डिब्बा राखिएको छ, जसमा एकपटकमा १२ जनासम्म सवार हुन सक्ने व्यवस्था गरिएको छ।
त्रिवेणीधाममा गणेश मन्दिर, कुष्माण्डा भगवती मन्दिर, विष्णुपादुका, विष्णुशयन प्रतिमा, यज्ञ तथा होम मण्डप, पाँच पाण्डव र हिडिम्बाका मूर्ति, बुद्धमूर्ति, सिसमहल, १०८ गौमुखी धारा तथा हालै स्थापना गरिएको चलायमान बुद्धको मूर्तिलगायतका आकर्षण छन्। धार्मिक स्थलमा प्रवेश निःशुल्क रहे पनि मनोरञ्जनात्मक पार्क र महल अवलोकनका लागि टिकटको व्यवस्था गरिएको विकास समितिले जनाएको छ।
रत्नावली, कर्णावती र कौशवाही नदीको सङ्गमस्थलमा रहेको त्रिवेणीधाम पछिल्ला वर्षहरूमा आन्तरिक धार्मिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ। बारा, पर्सा, रौतहट, चितवन, पोखरालगायतका जिल्लाबाट नियमित रूपमा पर्यटक पुग्ने गरेका छन्। बिदाका दिन दैनिक चारदेखि छवटा बसमा पर्यटक आउने तथा चाडपर्व, नयाँ वर्ष र धार्मिक मेलाका अवसरमा सयौँ दर्शनार्थी धाम पुग्ने गरेको समितिको भनाइ छ।
विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले विद्युतीय राइड सञ्चालनमा आएपछि पर्यटकको आकर्षण अझ बढ्ने विश्वास व्यक्त गरे। उनका अनुसार मनोरञ्जनात्मक सेवा विस्तारले हेटौँडालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित गर्न मद्दत पुग्नेछ।