शशांकको नेतृत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति, राष्ट्रिय भेला तयारी

1.7k Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत नेता डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको जानकारी दिइएको हो। इतर समूहले राष्ट्रिय भेलालाई व्यवस्थित, प्रभावकारी र व्यापक सहभागितामूलक बनाउन समिति गठन गरिएको जनाएको छ।

समूहका नेताहरूका अनुसार समितिले राष्ट्रिय भेलाको सम्पूर्ण व्यवस्थापन, समन्वय, प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन तथा अन्य तयारीका कामलाई अघि बढाउनेछ। भेलाको कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमिति गठन गर्ने तयारीसमेत रहेको जनाइएको छ।

संस्थापन इतर समूहले यसअघि नै साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरिसकेको छ। उक्त भेला पार्टीको आन्तरिक अवस्था, संगठन सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन्।

पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, नेतृत्व शैली र भावी कार्यदिशालाई लिएर संस्थापन र संस्थापन इतर समूहबीच बहस चलिरहेका बेला इतर पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। यस भेलालाई आगामी महाधिवेशनअघि इतर समूहको शक्ति प्रदर्शन र साझा रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ।

इतर समूहका नेताहरूले भेलामा देशभरका प्रतिनिधि, नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने दाबी गरेका छन्। भेलाबाट संगठनात्मक सुदृढीकरण, राजनीतिक प्रस्ताव तथा भावी कार्ययोजनासम्बन्धी निष्कर्षसमेत सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार