कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहको प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको भवनबाट हामफालेपछि उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनका २३ वर्षीय उत्तमसिंह कार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार बिहान स्नातक तह होटल व्यवस्थापन (बीएचएम) प्रथम सेमिस्टरको प्रवेश परीक्षामा सहभागी भएका कार्की परीक्षा सकिएपछि विश्वविद्यालय भवनको दोस्रो तलाबाट हामफालेका थिए।
बिहान ८:१५ बजेदेखि सुरु भएको परीक्षा दिएर करिब ९:१५ बजे कक्षाबाट बाहिर निस्किएका कार्की भवनको दोस्रो तलाको रेलिङमा चढेर हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि गम्भीर घाइते भएका उनलाई एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो।
तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए।
मृतक कार्की स्थानीय व्यवसायी पदमसिंह कार्कीका कान्छा छोरा हुन्। उनले वैजनाथ माध्यमिक विद्यालयबाट प्लस टु उत्तीर्ण गरेका थिए। प्रहरीले घटनाको कारण खुलिनसकेको जनाउँदै यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यदि तपाईं वा तपाईंले चिन्ने कोही आत्महत्या वा आत्महानिका विचारसँग संघर्ष गरिरहनुभएको छ भने, नजिकका परिवारका सदस्य, विश्वासिला साथी वा मानसिक स्वास्थ्य सेवासँग तत्काल सम्पर्क गर्नु महत्त्वपूर्ण हुन्छ। समयमै सहयोग खोज्नु जीवनरक्षक हुन सक्छ।