काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलका तीन कर्मचारी र दुई लेखापढी व्यवसायीलाई तीन लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार नियन्त्रणमा पर्नेमा कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल छन्।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख–हैरानी दिँदै तीन लाख रुपैयाँ घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई शुक्रबार ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ। पक्राउका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद भएको अख्तियारले जनाएको छ।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।