तनाव समाधानको पहल : प्रधानमन्त्री बालेनले मधेशका शीर्ष नेतासँग गरे छलफल

1.1k Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्था, सामाजिक सद्भाव र शान्ति स्थापनाका विषयमा मधेशका शीर्ष राजनीतिक नेताहरूसँग सिंहदरबारमा छलफल गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको छलफलमा मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको तनाव, त्यसको प्रभाव र स्थिति सामान्य बनाउने उपायबारे विस्तृत विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा सहभागी नेताहरूले मधेशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, स्थानीय समुदाय, नागरिक समाज र प्रशासनबीच समन्वय बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले कुनै पनि उत्तेजनात्मक गतिविधि, भ्रामक सूचना वा उक्साहटमा नलाग्न आम नागरिकलाई आग्रह गर्दै समस्याको समाधान संवाद र सहमतिमार्फत खोजिनुपर्ने धारणा राखेका थिए।

प्रधानमन्त्री शाहले सरकारले मधेशका सबै जिल्लाको सुरक्षा अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको बताउँदै कानुनको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले दोषीमाथि कानुनी कारबाही हुने र निर्दोष नागरिकको सुरक्षा सुनिश्चित गरिने विश्वास दिलाउनुभएको थियो।

छलफलमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्ने, समुदायबीच विश्वासको वातावरण बलियो बनाउनुपर्ने तथा कुनै पनि अफवाहको पछि नलाग्न नागरिकलाई सचेत गराउनुपर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।

सरकारले मधेशमा शान्ति, सुरक्षा र सामाजिक एकता कायम राख्न आवश्यक सबै कदम चालिरहेको तथा स्थानीय प्रशासनलाई प्रभावकारी रूपमा परिचालन गरिएको जनाएको छ।

पछिल्ला केही दिनयता सुनसरीको देवानगञ्ज घटनापछि मधेश प्रदेशका धनुषा, सिरहा, पर्सालगायत जिल्लामा तनाव देखिएको थियो। केही स्थानमा प्रशासनले निषेधाज्ञा तथा कर्फ्यु आदेशसमेत जारी गरेपछि प्रधानमन्त्री शाहले राजनीतिक संवादमार्फत स्थिति सामान्य बनाउने प्रयासस्वरूप मधेशका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको हो।

 
 
 
सम्बन्धित समाचार