रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पूर्वले जिल्ला एकता भेला, बैठक तथा शपथग्रहण कार्यक्रममार्फत २५५ सदस्यीय जिल्ला समिति घोषणा गरेको छ। सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित गाउँपालिकाको सभाहलमा बिहीबार आयोजित भेलामा नवनिर्वाचित जिल्ला समिति सदस्यहरूलाई शपथग्रहण गराइएको थियो ।
संगठन विस्तारको उद्देश्यसहित आयोजित भेलामा २५५ सदस्यीय जिल्ला समिति घोषणा गरिए पनि बैठकको मुख्य चर्चा भने केही समययता पार्टीभित्र चलिरहेको जिल्ला इन्चार्ज परिवर्तनको बहसमा केन्द्रित रह्यो ।
बैठकमा सहभागी नेताहरूका अनुसार इन्चार्ज परिवर्तनको विषयले बढी स्थान पाएपछि संगठन सुदृढीकरण, आगामी कार्ययोजना, जनपरिचालन, स्थानीय राजनीतिक एजेन्डा तथा पार्टी एकतालाई थप मजबुत बनाउने विषय अपेक्षाकृत ओझेलमा परेका थिए ।
बैठकमा केही नेता तथा कार्यकर्ताले पार्टीभित्र असन्तुष्ट र विद्रोही पक्षलाई पनि समेटेर मात्र वास्तविक एकता सम्भव हुने धारणा राखेका थिए। उनीहरूले जिल्लाका सबै केन्द्रीय सदस्य, प्रदेश तहका नेतृत्व र दुवै पक्षका जिल्ला प्रतिनिधिहरूको सहभागितामा साझा बैठक आयोजना गरी संगठनलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका छन् ।
सहभागीहरूले पार्टीभित्र देखिएको मतभेदलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न सके जिल्लामा नेकपाको संगठन अझ बलियो बन्ने विश्वास व्यक्त गरेका थिए । यद्यपि, बैठकमा उठेका धारणा तथा जिल्ला इन्चार्ज परिवर्तनसम्बन्धी बहसबारे पार्टीले कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छै न।