गृहमन्त्री गुरुङ आज सिराहा जाँदै, मृतकका परिवारसँग भेट्ने
1.1k
Shares
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ शुक्रबार सिराहा जाने भएका छन्। सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग भेटघाट गर्न उनी त्यसतर्फ जान लागेका हुन्।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङले मृतकका परिवारलाई भेटेर समवेदना व्यक्त गर्नुका साथै घटनाबारे स्थलगत जानकारी लिने कार्यक्रम रहेको छ। सुरक्षा निकायका उच्च अधिकारीहरू पनि उनको टोलीमा सहभागी हुने जनाइएको छ।
सुनसरीको देवानगञ्ज घटनापछि सिराहालगायत मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनावका बीच गृहमन्त्रीको यो भ्रमण हुन लागेको हो। सरकारले प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन तथा स्थानीयसँग प्रत्यक्ष संवाद बढाउन उच्चस्तरीय पहल अघि बढाएको जनाएको छ।
यसअघि गृहमन्त्री गुरुङले सुनसरी पुगेर देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र उपचारका क्रममा मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग पनि भेट गरेका थिए।
सरकारले देवानगञ्ज र त्यसपछि विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रभावित क्षेत्रमा शान्ति, सद्भाव र कानुनी शासन कायम गर्न सबै पक्षसँग संयमता अपनाउन आग्रह गरेको छ।