सर्लाहीमा सीमा नाकाबाट प्रवेश गर्न परिचयपत्र अनिवार्य
2.9k
Shares
सर्लाही । सर्लाही जिल्ला सुरक्षा समितिले सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुले आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै छिमेकी मुलुकबाट सीमा नाकामार्फत नेपाल भित्रिने सबै यात्रुको परिचय यकिन गरेपछि मात्र प्रवेश अनुमति दिने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबैले नागरिकता, राहदानी वा अन्य आधिकारिक परिचय खुल्ने कागजात अनिवार्य रूपमा देखाउनुपर्नेछ। परिचयपत्र नभएका व्यक्तिलाई प्रवेश अनुमति नदिइने उनले बताए।
पूर्वी नेपालका केही जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थापछि सर्लाहीमा पनि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सोही क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले विभिन्न धर्मका धार्मिक अगुवासँग छलफल गरेका छन्।
छलफलमा जिल्लाभित्र सामाजिक सद्भाव, शान्ति र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिइएको छ। कुनै पनि प्रकारका विवाद वा असमझदारीलाई संवाद र सहमतिबाट समाधान गर्न तथा हिंसात्मक वा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबैसँग आग्रह गरिएको छ।
यससँगै धार्मिक जुलुस, र्याली, सभा वा सार्वजनिक कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने निर्णय पनि गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपिल जारी गर्दै अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा शान्ति–सुरक्षा व्यवस्थापनमा प्रशासनलाई सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार शुक्रबार बिहानसम्म जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको छ। सदरमुकाम मलङ्गवासहित केही स्थानमा शान्तिपूर्ण प्रदर्शन भए पनि कुनै अप्रिय घटना नभएको र सुरक्षा अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।