राजविराजमा पनि अनिश्चितकालीन कर्फ्यु, बोदेबरसाईनमा सेना परिचालन

1.1k Shares

सप्तरी । सुनसरीको देवानगञ्ज घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै गएसँगै सप्तरीको सदरमुकाम राजविराजमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यु लागू गरेको हो। यसअघि बिहीबार राति १० बजेदेखि बोदेबरसाईन नगरपालिकामा पनि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम शान्ति–सुरक्षा अवस्था नियन्त्रणमा राख्न कर्फ्यु आदेश जारी गरिएको हो।

प्रशासनले जारी गरेको आदेशअनुसार कर्फ्युको क्षेत्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म कायम गरिएको छ।

प्रमुख जिल्ला अधिकारी थापाले कर्फ्यु आदेश उल्लङ्घन गर्ने, गराउने वा त्यसमा संलग्न हुने जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ।

यसैबीच, बोदेबरसाईन क्षेत्रमा कर्फ्युको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती तथा सुरक्षा निगरानी बढाएको प्रशासनले जनाएको छ।

सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनावको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिँदै गएको छ। सोही घटनाको विरोधमा बिहीबार सप्तरीमा प्रदर्शन भएको थियो भने पछिल्ला दिनमा सिरहा, धनुषा, पर्सालगायत जिल्लामा पनि सुरक्षा सतर्कता कडा पारिएको छ।

 
 
 
सम्बन्धित समाचार