‘देश र लोकतन्त्र जोगाऔँ’ : मधेशको तनावबीच बाबुरामको अपिल

1.7k Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसा र अशान्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाई राष्ट्रिय एकताका साथ संकट समाधानमा जुट्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले पछिल्ला केही दिनयता मधेशमा भएका हिंसात्मक घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको र मुलुकमा असहज अवस्था सिर्जना गरेको बताएका छन्। उनले यस्तो अवस्था राष्ट्रिय चिन्ताको विषय भएको उल्लेख गरेका छन्।

उनले आवेगले विवेकमाथि हावी भए परिस्थिति अझ भयावह बन्न सक्ने चेतावनी दिँदै विभिन्न दृश्य तथा अदृश्य शक्तिहरूले यसको फाइदा उठाएर संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि नै खतरा उत्पन्न गराउन सक्ने बताएका छन्।

आन्तरिक विभाजनले बाह्य शक्तिलाई चलखेल गर्ने अवसर दिने उल्लेख गर्दै भट्टराईले ‘भाइ फुटे गँवार लुटे’ को अवस्था आउन नदिन सरकार, राजनीतिक दल तथा सबै जाति, धर्म र समुदायका देशभक्त नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार अहिलेको संकट समाधानका लागि कुनै ‘किन्तु–परन्तु’ नगरी साझा प्रयास आवश्यक छ।

भट्टराईले राज्यको उच्च नेतृत्व, राजनीतिक दल तथा विभिन्न समुदायका नेताबीच सुरु भएको संवाद र सहकार्यलाई सकारात्मक पहलका रूपमा स्वागत गरेका छन्। नेतृत्व र दलका कमजोरीको समीक्षा पछि पनि गर्न सकिने उल्लेख गर्दै उनले अहिलेको पहिलो प्राथमिकता घृणा, हिंसा र आक्रोशको आगो निभाउनु हुनुपर्ने बताएका छन्।

“देश र लोकतन्त्र रहे हामी सबै रहन्छौँ, अरू हिसाबकिताब पछि हुँदै रहन्छ,” भट्टराईले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

सम्बन्धित समाचार