काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संविधानको मूल मर्म र भावना कमजोर पार्ने गरी अघि बढ्न खोजेको हो कि भन्ने आशंका व्यक्त गरेका छन्। उनले सरकारको पछिल्लो गतिविधिलाई लिएर संविधान पुनर्लेखनको प्रयास भइरहेको होइन भन्ने गम्भीर प्रश्न उठाएका हुन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले संविधान संशोधन र पुनर्लेखन फरक विषय भएको उल्लेख गर्दै जनताले संघर्षबाट प्राप्त गरेको संविधानको आधारभूत चरित्र परिवर्तन गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए।
उनले संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक संशोधन हुन सक्ने भए पनि त्यसको नाममा संविधानको मूल भावना नै परिवर्तन गर्ने प्रयास भए त्यसको प्रतिवाद गरिने चेतावनी दिए।
साथै, संविधानले सुनिश्चित गरेका संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र अधिकारका व्यवस्थामाथि कुनै प्रकारको हस्तक्षेप हुन नहुने उनको भनाइ थियो ।