लुम्बिनीमा चेतनारायण आचार्यकै निरन्तरता, मन्त्रिपरिषद् पुनर्गठन हुने
1.4k
Shares
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता सहकार्यको सहमति भएपछि नेतृत्व परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै मुख्यमन्त्रीका रूपमा कायम राख्ने निर्णय भएको हो।
भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लीला गिरीसहित पार्टीका शीर्ष नेताबीच भएको छलफलले आचार्यकै नेतृत्वलाई निरन्तरता दिने निष्कर्ष निकालेको स्रोतले जनाएको छ।
निर्णयसँगै एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँट, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा न्यूनतम कार्यक्रमबारे औपचारिक छलफल अघि बढ्ने भएको छ। मन्त्रालयको संरचना पुनर्संरचना भइसकेकाले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा गृहकार्य सुरु गरिएको जनाइएको छ।
हाल लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका पाँच जना मन्त्री कार्यरत छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यसपछि एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण निर्माण गर्ने सहमति भएको हो।
सहमतिअनुसार अब नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाइनेछ भने केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी रहेको बताइएको छ।