काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनापछि मधेश प्रदेशमा विकसित भइरहेको अवस्थाबारे आफ्नै पार्टीका २० सांसदसँग छलफल गरेका छन्।
मधेश प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरूसँग भएको छलफलमा सुनसरी घटनाको प्रभाव सिरहा, जनकपुरसहित पूर्व–पश्चिम राजमार्ग आसपासका तथा तराईका विभिन्न जिल्लामा फैलिँदै गएको विषयमा समीक्षा गरिएको थियो।
छलफलका क्रममा सांसदहरूले घटनापछि शान्ति–सुरक्षा कायम गर्न र स्थिति नियन्त्रणमा लिन सरकारको प्रभावकारी अग्रसरता आवश्यक रहेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
घटना थप जटिल बन्दै गएपछि सभापति लामिछानेले बुधबार बिहान सर्वदलीय बैठकसमेत डाकेका थिए। उक्त बैठकपछि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव, संयम र शान्ति कायम राख्न सबै पक्षसँग आग्रह गरेका थिए।
यता, बिहीबार मधेश प्रदेशका सिरहा र जनकपुरमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि सुरक्षा सतर्कता थप कडा बनाइएको छ।