सीमा अभिव्यक्तिमा प्रधानमन्त्रीलाई घेर्दै विपक्षी, सुनसरी घटनाको निष्पक्ष छानबिनको माग
1.1k
Shares
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलले पुनः आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले यसअघि संसदमा दिएको अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग अझै सम्बोधन नभएको भन्दै विपक्षी सांसदहरूले विरोधलाई निरन्तरता दिएका हुन्।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई बोल्ने समय दिनुभएको थियो।
थापाले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने विपक्षीको माग अझै पूरा नभएको भन्दै सरकार संसदप्रति जिम्मेवार बन्नुपर्ने बताइन्। उनले सुनसरीको कप्तानगञ्जमा स्थानीय युवक ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरिन्।
उनले नागरिकको जीउधनको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएकाले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराइन्।
नेकपा (एमाले)की सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीले दुई महिनाअघि संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग दोहोर्याइन्।
उनले सुकुमवासी समस्या समाधान, किसानका लागि रासायनिक मलको सहज उपलब्धता तथा मल खोज्न भारत गएका चार नेपाली लामो समयदेखि भारतीय जेलमा रहेको विषयमा सरकारले तत्काल पहल गर्नुपर्ने बताइन्।
अर्यालले साउन १० गते सुनसरीमा भएको घटनामा दङ्गा नियन्त्रण गर्न राज्य असफल भएको आरोप लगाउँदै सरकारलाई जिम्मेवारी लिन आग्रह गरिन्। उनले सामाजिक सद्भाव कायम राख्न सबै पक्ष संयमित बन्नुपर्ने र ‘सबै बाँचौं, सबैलाई बचाऔं’ भन्ने भावनाका साथ अघि बढ्नुपर्ने धारणा राखिन्।
उनले मनसुनी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र अन्य विपद्का जोखिम न्यूनीकरणका लागि पनि सरकारलाई प्रभावकारी तयारी गर्न आग्रह गरिन्।
नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन पटक–पटक माग गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए। उनले सुनसरीको कप्तानगञ्ज घटनामा सरकार पर्याप्त संवेदनशील बन्न नसकेको टिप्पणी गरे।
राप्रपाकी सांसद खुश्बु ओलीले सुनसरी घटनाको समाधान राजनीतिक तहबाट खोज्नुपर्ने बताउँदै सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दल र सरकारले जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखिन्। उनले सरकारबाट थप सक्रिय पहल आवश्यक रहेको उल्लेख गरिन्।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अझै स्पष्ट नभएको र संसद्को अभिलेखबाट नहटाइएको भन्दै असन्तुष्टि जनाए। उनले सुनसरीलगायतका क्षेत्रमा देखिएको तनाव समाधानका लागि सरकारले अग्रसर भूमिका खेल्नुपर्ने र बल प्रयोगभन्दा संवादमार्फत निकास खोज्नुपर्ने बताए।