काठमाडौँ । नेकपा (एमाले) ले सुनसरीमा भएको हिंसात्मक घटनाको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि संसदमा कडा प्रश्न उठाएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले सुनसरी घटनामा नागरिकको ज्यान गएको विषयलाई गम्भीर भन्दै सरकारको जवाफदेहिता माग गरेका हुन्। उनीहरूले जनताको ज्यान जाने अवस्था सिर्जना हुँदा पनि सरकारले जिम्मेवारी नलिएको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिन्छन् कि दिँदैनन् भन्ने प्रश्न उठाए।
एमाले सांसदहरूले सुरक्षा व्यवस्थापनमा सरकार असफल भएको दाबी गर्दै सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले घटनाको वास्तविकता सार्वजनिक गर्न र सरकारले संसदलाई स्पष्ट जानकारी दिनुपर्ने बताएका छन्।
संसदमा बोल्ने क्रममा एमालेका सांसदहरूले सरकार जनताको जिउधनको सुरक्षाप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिँदै यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा रणनीति अपनाउन आग्रह गरेका छन्।
सुनसरी घटनालाई लिएर प्रमुख प्रतिपक्षले सरकारको भूमिकामाथि लगातार प्रश्न उठाइरहेका बेला संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको नैतिक जिम्मेवारीबारे बहस चर्किएको छ। सरकारले भने घटनाको छानबिन प्रक्रिया अघि बढाइएको र दोषीलाई कानुनी दायरामा ल्याइने बताउँदै आएको छ।