चिकित्सकमाथिको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, इमर्जेन्सीबाहेक सेवा ठप्प

1.7k Shares

काठमाडौं । नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा नेपाल चिकित्सक सङ्घले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ। आन्दोलनअन्तर्गत देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ।

नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरू माइतीघर मण्डलामा भेला भएर दोषीलाई तत्काल कानुनी कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्।

सङ्घले नारायणी अस्पतालमा भएको साङ्घातिक आक्रमणपछि पाँच दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कारबाही नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ। उल्टै न्यायको माग गर्न गएका चिकित्सकहरूमाथि दुर्व्यवहार भएको आरोप पनि सङ्घले लगाएको छ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजालले चिकित्सकमाथि हुने हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गर्नुभयो। उहाँले सरकारबाट मागहरू तत्काल सम्बोधन भए आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन सङ्घ तयार रहेको पनि बताउनुभयो।

सङ्घले स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा निर्भय भएर सेवा दिन पाउने अवस्था सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। आन्दोलनका कारण देशभरका अस्पतालमा ओपीडी, नियमित स्वास्थ्य परीक्षण, योजना अनुसार हुने शल्यक्रिया तथा अन्य गैरआकस्मिक सेवाहरू प्रभावित भएका छन् भने आकस्मिक सेवा भने यथावत सञ्चालनमा रहेको छ।hospital-close-all-nepal-npl-photo-(11)-1785298220.jpg

सम्बन्धित समाचार