नयाँदिल्ली । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्नुपर्ने वा जेल सजाय भोग्नुपर्ने अवस्था आए पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गर्नुभएको छ।
भारतमा निर्वासनमा रहँदै आउनुभएकी ७८ वर्षीया हसिनाले एएफपीसँग इमेलमार्फत दिएको अन्तर्वार्तामा आफूलाई बङ्गलादेश फर्किन जनताबाट निरन्तर आग्रह भइरहेको बताउँदै कुनै पनि जोखिमबाट नडराउने स्पष्ट पार्नुभएको हो।
उहाँले आफ्नो भविष्यबारे आफू पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै स्वदेश फर्कने निर्णयबाट पछि नहट्ने बताउनुभयो। “मेरो ज्यान जान सक्छ, मलाई पक्राउ गर्न सकिन्छ वा जेल हाल्न सकिन्छ, तर म त्यसका लागि तयार छु,” उहाँको भनाइ उद्धृत गरिएको छ।
सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि करिब १५ वर्ष लामो शासनको अन्त्य भएको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास घेरेपछि हसिना हेलिकोप्टरमार्फत भारत पुगेकी थिइन्। संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलन दबाउन गरिएको सरकारी कारबाहीमा करिब एक हजार चार सय जनाको ज्यान गएको थियो।
गत नोभेम्बरमा ढाकास्थित अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। तर हसिनाले उक्त फैसलालाई कानुनको आवरणमा गरिएको राजनीतिक प्रतिशोधको संज्ञा दिँदै अस्वीकार गर्नुभएको छ।
भारतको गोप्य स्थानमा बसोबास गरिरहेकी हसिनाले आफ्नो स्वदेश फर्कने निर्णय कुनै बाह्य दबाबका कारण नभएको बताउनुभएको छ। उहाँका अनुसार बङ्गलादेश सरकारले भारतसँग आफ्नो सुपुर्दगी माग गरे पनि भारतीय अधिकारीहरूले त्यस विषयमा आफूसँग कुनै छलफल गरेका छैनन् र आफू भारतमा सम्मानपूर्वक बसिरहेको बताउनुभयो।
हसिनाले आफ्नो बहिर्गमनपछि बङ्गलादेश–भारत सम्बन्ध केही समय चिसिएको भए पनि फेब्रुअरीमा तारिक रहमान प्रधानमन्त्री बनेपछि सम्बन्ध क्रमशः स्थिर बन्दै गएको दाबी गर्नुभएको छ।
मानवअधिकार सङ्गठनहरूले हसिनाको शासनकालमा विपक्षीमाथि दमन, गैरन्यायिक हत्या, राजनीतिक हस्तक्षेप तथा विवादास्पद निर्वाचन गराएको आरोप लगाउँदै आएका छन्। तर उहाँले ती सबै आरोपलाई राजनीतिक उद्देश्यले प्रेरित अभियानको संज्ञा दिँदै प्रत्येक घटनाको अनुसन्धान भएको र दोषीमाथि कानुनी कारबाही गरिएको दाबी गर्नुभयो।
विद्यार्थी आन्दोलन दमनका क्रममा अत्यधिक बल प्रयोग गरिएको आरोप पनि उहाँले अस्वीकार गर्नुभयो। आन्दोलन सामान्य विद्यार्थी प्रदर्शन नभई योजनाबद्ध राजनीतिक अभियान भएको दाबी गर्दै उहाँले आफ्नो सरकारले धैर्यपूर्वक परिस्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास गरेको बताउनुभयो।
हसिनाले स्वदेश फर्किएपछि पुनः सक्रिय राजनीतिमा फर्किने वा नफर्किने विषयमा स्पष्ट धारणा भने सार्वजनिक गर्नुभएन। उहाँले आफ्नो लक्ष्य सत्ता प्राप्ति नभई जनताको सेवा रहेको उल्लेख गर्दै आन्दोलनमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्नुभयो। यद्यपि, घटनाप्रति माफी माग्न भने उहाँले अस्वीकार गर्नुभएको छ।