काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वाशिङ्टनमा छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटमा युक्रेनको हवाई सुरक्षा सुदृढ बनाउन अमेरिकी सहयोग, विशेषगरी प्याट्रियट अवरोधक मिसाइल उत्पादनका लागि अनुमति दिने विषयमा छलफल भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ।
यद्यपि, भेटपछि अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउनेबारे कुनै औपचारिक घोषणा गरेको छैन।
जेलेन्स्कीले दुवै देशबीच कूटनीतिक प्रयासलाई थप सक्रिय बनाउने विषयमा सहमति भएको जानकारी दिएका छन्। उनले अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनका प्रतिनिधिसँग पनि भेट गर्दै प्याट्रियटसहित अन्य रक्षा प्रणालीको संयुक्त उत्पादन र सहकार्य विस्तारबारे छलफल गरेका थिए।
यसका साथै, रुसी तेल तथा ग्यास खरिद गर्ने देशहरूमाथि प्रतिबन्ध लगाउने अमेरिकी सिनेटमा प्रस्तावित विधेयकलाई उनले युक्रेनप्रति अमेरिकाको महत्त्वपूर्ण समर्थनको संकेतका रूपमा व्याख्या गरेका छन्।
यसपछि राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका थिए। भेटमा मुख्य रूपमा इरानसँगको तनाव र उसको आणविक कार्यक्रमबारे छलफल भएको जनाइएको छ।
भेटपछि नेतान्याहुले इरानलाई आणविक हतियार विकास गर्न नदिने साझा उद्देश्यमा दुवै नेताबीच स्पष्ट समझदारी भएको बताएका छन्।
यसैबीच, राष्ट्रपति ट्रम्पले इरानसँगको द्वन्द्व समाधानका लागि सकारात्मक वार्ता भइरहेको दाबी गर्दै परिस्थितिले शान्तिपूर्ण निकास पाउनेमा आफू आशावादी रहेको बताएका छन्।