दाङमा एक वर्षमा १८ हजारभन्दा बढीले पाए नयाँ नागरिकता

1.7k Shares

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७९ जनालाई नयाँ नेपाली नागरिकता प्रदान गरेको छ।

कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार १८ हजार ९ जनाले वंशजका आधारमा, २२ जनाले आमाको नामबाट, १४ जनाले गैरआवासीय नेपाली नागरिकता, ३४ जनाले वैवाहिक अंगीकृत नागरिकता र १० जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट ६ हजार ६७०, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ७ हजार १५५ र इलाका प्रशासन कार्यालय लमहीबाट ४ हजार २५४ जनालाई नयाँ नागरिकता वितरण गरिएको हो।

त्यसैगरी, एक वर्षको अवधिमा १४ हजार ७३७ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ। घोराहीबाट ५ हजार १७९, तुलसीपुरबाट ७ हजार २६७ र लमहीबाट २ हजार ७९१ वटा प्रतिलिपि वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन्।

यस्तै, ४१९ वटा नाबालक परिचयपत्र वितरण गरिएको छ भने १७ हजार २२२ वटा राहदानी जारी गरिएको कार्यालयले जनाएको छ। राहदानीमध्ये घोराहीबाट ७ हजार ५७९, तुलसीपुरबाट ५ हजार ६२७ र लमहीबाट ४ हजार १६ वटा वितरण गरिएको छ।

गत आर्थिक वर्षमा ७१ हजार ४७० जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको छ भने ५ हजार ८५५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ।

राष्ट्रिय परिचयपत्र दर्तामध्ये जिल्ला प्रशासन कार्यालय घोराहीमा ३३ हजार ५०२, इलाका प्रशासन कार्यालय तुलसीपुरमा २६ हजार ६० र इलाका प्रशासन कार्यालय लमहीमा ११ हजार ९०८ जनाको विवरण संकलन गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई निरन्तर सुधार गर्दै लगिएको जनाएको छ।

 
 
 
सम्बन्धित समाचार