क्रसर बन्द हुँदा राजमार्ग निर्माण संकटमा, गिट्टी अभावले अस्फाल्ट रोकियो

1.5k Shares

विराटनगर । मोरङका केही क्रसर उद्योगमाथि राजस्व हिनामिनाको आशङ्कामा सुरु गरिएको अनुसन्धान दुई महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न नसक्दा पूर्व–पश्चिम राजमार्ग विस्तार आयोजनाको काम प्रभावित भएको छ। निर्माण सामग्री आपूर्ति गर्ने मुख्य क्रसर उद्योगहरू बन्द हुँदा कालोपत्रेको अन्तिम चरणमा पुगेका सडक खण्डमा काम रोकिएको हो।

जिल्ला अनुगमन समितिले क्रसर उद्योगको अनुगमनपछि संकलन गरेको विवरणका आधारमा राजस्व हिनामिना भएको हुन सक्ने आशङ्का व्यक्त गर्दै जिल्ला समन्वय समितिले आन्तरिक राजस्व कार्यालय विराटनगर र दमकलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। तर अनुसन्धान प्रक्रिया अझै पूरा हुन सकेको छैन।

हाल लेटाङ–३ स्थित ओम श्री क्रसर उद्योग एन्ड सप्लायर्स, माँ भगवती स्टोन मिल्स तथा बेलबारीको कान्तिपुर वासिङ सम्बन्धी अनुसन्धान आन्तरिक राजस्व कार्यालय विराटनगरले गरिरहेको छ। यस्तै मिक्लाजुङस्थित देवीथान कङ्क्रिट उद्योग र श्री सीआरएफजी–टुन्डी जेभीले सञ्चालन गरेको अस्थायी क्रसरबारे अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय दमकलाई जिम्मा दिइएको जिल्ला समन्वय अधिकारी जानुका न्यौपानेले जानकारी दिनुभयो।

राजमार्ग निर्माणका लागि आवश्यक गिट्टी, ढुङ्गा तथा अन्य नदीजन्य सामग्री उपलब्ध गराउने तीन प्रमुख क्रसर उद्योग नै अनुसन्धानको दायरामा परेपछि निर्माण सामग्रीको अभाव भएको छ। यसको प्रत्यक्ष असर मोरङ–सुनसरीतर्फको पश्चिम खण्डमा परेको छ भने झापा क्षेत्रको पूर्वी खण्डमा पनि मौज्दात सामग्री सकिँदै जाँदा निर्माण कार्य संकटमा परेको छ।

पूर्वी खण्डका आयोजना प्रमुख सुनीलबाबु पन्तका अनुसार हालसम्म ४५ किलोमिटरमध्ये १८ किलोमिटर २५० मिटर सडक कालोपत्रे भइसकेको छ, जसमध्ये १२.५ किलोमिटर पूर्ण चौडाइमा सम्पन्न भएको छ। तर अहिले तीनदेखि चार किलोमिटर सडकका लागि पुग्ने मात्र गिट्टी मौज्दात रहेकाले पहिलो चरणको डिबिएम (DBM) काम जेनतेन चलिरहेको र अन्तिम चरणको अस्फाल्ट बिछ्याउने काम पूर्ण रूपमा रोकिएको उहाँले बताउनुभयो।

निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका प्रतिनिधि उज्ज्वल प्रसाईले पश्चिम खण्डमा झन्डै १५ किलोमिटर सडक कालोपत्रेका लागि तयार अवस्थामा रहे पनि गिट्टी अभावका कारण काम सुरु गर्न नसकिएको जानकारी दिनुभयो। उहाँका अनुसार पुरानो मौज्दातले धेरै दिन धान्न नसक्ने अवस्था छ भने झापा खण्डमा पनि समस्या उस्तै रहेको छ।

निर्माण व्यवसायीहरूले असार मसान्तको चाप, मनसुनी वर्षा, गिट्टी अभाव र अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको मूल्यमा भएको उल्लेख्य वृद्धिका कारण आयोजनाको लागत बढ्दै गएको र काम थप प्रभावित भएको बताएका छन्।

राजमार्ग आयोजनाले निर्माण कार्य अवरुद्ध हुन नदिन जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय तहसँग पटक–पटक समन्वय र सहयोगको आग्रह गरे पनि हालसम्म निर्माण सामग्रीको सहज आपूर्तिका लागि प्रभावकारी पहल हुन सकेको छैन।

यता आन्तरिक राजस्व कार्यालय विराटनगरले भने साउन महिनामा पान नम्बर दर्ता गर्न आएका हजारौँ भूमिहीन सुकुमवासीको चापका कारण अधिकांश जनशक्ति त्यही कार्यमा खटिनुपरेको भन्दै अनुसन्धानमा ढिलाइ भएको जनाएको छ। कार्यालयका अनुसार क्रसर उद्योगसम्बन्धी अनुसन्धान टुङ्गिन अझै करिब एक महिना लाग्न सक्ने अनुमान गरिएको छ।

 
 
 
सम्बन्धित समाचार