काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीको कप्तानगञ्जलगायत क्षेत्रमा भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र संयमता कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ।
पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनाप्रति सम्पूर्ण पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुका साथै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
रास्वपाले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट पार्दै नेपालको बहुलवादी संस्कृति, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको जनाएको छ।
पार्टीले सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवालालाई अपिल गरेको छ। विज्ञप्तिमा उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन सबैलाई आग्रह गरिएको छ।
रास्वपाले परिस्थितिलाई सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। साथै घटनाको निष्पक्ष, पारदर्शी र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, पीडितलाई न्याय दिलाउन तथा घाइतेहरूको निःशुल्क उपचार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
यसैबीच, पार्टीले यो दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ। स्थानीय तहका पार्टी समितिलाई समुदायबीच सद्भाव कायम राख्न, संवादलाई प्रोत्साहन गर्न र शान्तिपूर्ण वातावरण निर्माणमा सक्रिय भूमिका खेल्न निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ।