चरित्रहत्याको प्रयास भएको भन्दै राधिका दासीको आपत्ति

2.1k Shares

काठमाडौं । कथावाचिका राधिका दासीले सामाजिक सञ्जाल र युट्युब अन्तर्वार्तामार्फत आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको आरोप लगाउँदै निष्पक्ष कानुनी अनुसन्धान र न्यायको माग गरेकी छन्।

मंगलबार प्रेस वक्तव्य जारी गर्दै दासीले आफूविरुद्ध सार्वजनिक गरिएका आरोपहरू आधारहीन र अनर्गल रहेको दाबी गर्दै आफ्नो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि तथा धार्मिक पहिचानमाथि गम्भीर प्रहार भएको बताएकी हुन्।

विवाद त्यसपछि सार्वजनिक भएको हो, जब सामाजिक सञ्जालमा अभियन्ता भनेर चिनिने विराटनगरकी २२ वर्षीया वेदिका केसीले एक युट्युब अन्तर्वार्तामा दासीको व्यक्तिगत जीवन र चरित्रबारे विभिन्न आरोप लगाएकी थिइन्।

‘प्रतिष्ठामाथि आक्रमण स्वीकार्य छैन’

दासीले आफू वर्षौंदेखि सनातन हिन्दु धर्मको सेवा, आध्यात्मिक साधना तथा समाजमा नैतिक मूल्य प्रवर्द्धनका कार्यमा सक्रिय रहेको उल्लेख गर्दै आफ्नो चरित्रमाथि गरिएको सार्वजनिक टिप्पणीले गम्भीर मानसिक र सामाजिक क्षति पुगेको बताएकी छन्।

उनले महिलाको आत्मसम्मान र चरित्रमाथि आधारहीन आरोप लगाउनु सभ्य समाजका लागि स्वीकार्य नहुने उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको प्रतिष्ठामा आघात पुर्‍याउने अधिकार कसैलाई नभएको स्पष्ट पारेकी छन्।

दासीका अनुसार आफूले प्रतिशोधका लागि नभई आफ्नो मानमर्दन रोक्न र सत्य स्थापित गर्न कानुनी प्रक्रिया अपनाउँदै प्रहरीमा जाहेरी दिएको हो।

अनुसन्धानमा निष्पक्षता कायम गर्न आग्रह

प्रेस वक्तव्यमा दासीले न्यायको खोजीका क्रममा राज्यका निकायबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि गरेकी छन्।

उनले गृहमन्त्रीसँग प्रत्यक्ष भेटेर आफ्नो कुरा राख्न प्रयास गरे पनि लामो समयसम्म प्रतीक्षा गर्दा समेत भेट्न नपाएको र आफूलाई बेवास्ता गरिएको अनुभूति भएको उल्लेख गरेकी छन्।

दासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी र साइबर ब्युरोलाई अनुसन्धान प्रक्रियामा कुनै पनि प्रकारको अनुचित प्रभाव वा हस्तक्षेप हुन नदिन तथा घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न आग्रह गरेकी छन्।

साइबर ब्युरोले गरिरहेको छ अनुसन्धान

यसैबीच, कथावाचिका राधिका दासीलाई लक्षित गरी व्यक्तिगत लाञ्छना गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले वेदिका केसीविरुद्ध अनुसन्धान अघि बढाएको छ।

साइबर ब्युरोका अनुसार केसीलाई हिरासतमा नराखी हाजिर जमानीमा राखिएको छ भने उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान जारी रहेको छ।

यस विषयमा अनुसन्धान जारी रहेकाले आरोपहरूको सत्यता सम्बन्धित निकायको छानबिन र कानुनी प्रक्रियाबाट टुंगो लाग्नेछ।

सम्बन्धित समाचार