काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। पार्टीले प्रहरीद्वारा गोली चलाएर नागरिकको ज्यान गएको घटनालाई गम्भीर सुरक्षा लापरबाहीको परिणाम भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।
मंगलबार प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा नियम–कानुनको उल्लंघन गर्दै जथाभावी गोली चलाएर एक नागरिकको ज्यान लिइएको र अन्यलाई गम्भीर घाइते बनाइएको उल्लेख गर्दै त्यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाइएको छ।
नेकपाले शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेको प्रहरी प्रशासनले समन्वय, संयमता र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा बल प्रयोग गरी नागरिकको ज्यान लिएको भन्दै त्यसलाई गम्भीर सुरक्षा कमजोरीका रूपमा व्याख्या गरेको छ।
पार्टीले घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न, दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि आग्रह गरेको छ।
विज्ञप्तिमा सुरक्षा निकाय नेतृत्वविहीन अवस्थामा रहनु अर्को गम्भीर कमजोरी भएको उल्लेख गर्दै सरकारी निकायको गैरजिम्मेवार कार्यशैलीका कारण अवस्था थप तनावपूर्ण बनेको दाबी गरिएको छ।
नेकपाले उक्त घटनालाई गम्भीर मानवअधिकार उल्लंघन तथा गैरन्यायिक हत्याको उदाहरण भन्दै अन्धाधुन्ध गोली चलाएर नागरिकको ज्यान लिइएको घटनाको भर्त्सना गरेको छ।
गत साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए। उक्त घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा तनाव कायम रहँदै आएको छ।