बौद्धमा अन्तर्राष्ट्रिय बौद्ध प्रशिक्षण सुरु, विभिन्न देशका भिक्षु–भिक्षुणी काठमाडौंमा

1.5k Shares

काठमाडौं । काठमाडौंको बौद्धस्थित तीनचुलीमा अन्तर्राष्ट्रिय बौद्ध प्रशिक्षण कार्यक्रम सुरु भएको छ। इन्टरनेशनल बुद्धिस्ट एकेडेमीको आयोजनामा मंगलबारदेखि सुरु भएको ‘टिचिङ एण्ड कोर्ष प्रोग्राम’ भदौ ३ गतेसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार कार्यक्रममा विभिन्न देशबाट आएका भिक्षु–भिक्षुणी तथा बौद्ध धर्मप्रति रुचि राख्ने गृहस्थ विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ।

प्रशिक्षणका क्रममा बौद्ध दर्शन, शिक्षा, साधना र अभ्याससँग सम्बन्धित विविध विषयमा अध्ययन, छलफल तथा अनुभव आदान–प्रदान गरिने जनाइएको छ।

कार्यक्रमको मुख्य उद्देश्य विभिन्न बौद्ध परम्पराबीच शैक्षिक, दार्शनिक तथा आध्यात्मिक सहकार्यलाई अझ सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ।

प्रशिक्षणमा नेपाल, भारत, भुटान र तिब्बती समुदायका सहभागीका साथै युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया तथा पूर्वी र दक्षिण–पूर्वी एसियाका विभिन्न देशबाट आएका भिक्षु–भिक्षुणी सहभागी छन्।

कार्यक्रममा शाक्य, काग्यू, निङ्मा लगायत तिब्बती बौद्ध परम्पराका प्रतिनिधिहरूले सहभागिता जनाउँदै बौद्ध शिक्षाको अन्तर्राष्ट्रिय आदान–प्रदानलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

 
 
 
सम्बन्धित समाचार