काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा हिन्दुवादी समूहले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै नाराबाजी र प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले मुस्लिम समुदायलाई लक्षित गर्दै विभिन्न नारा लगाएका थिए। केही प्रदर्शनकारीले समुदायप्रति आक्रामक र उत्तेजक अभिव्यक्ति दिएका थिए, जसले प्रदर्शनलाई थप विवादित बनाएको छ।
उनीहरूले ‘मुस्लिमलाई मीठो बोली, हिन्दुलाई तातो गोली’, ‘नेपालका हरेक मस्जिद र मदरसामा निगरानी गर’, ‘हिन्दुहरूको पर्वमा आक्रमण किन ?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
यसअघि साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायका युवाबीच सामान्य विवादबाट सुरु भएको झडप हिंसात्मक बनेको थियो। घटनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए।
उक्त घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा तनाव उत्पन्न भएको छ। स्थानीय प्रशासनले संवेदनशील क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ भने घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग विभिन्न पक्षबाट उठिरहेको छ।
यसैबीच, प्रशासनले सामाजिक सद्भाव र शान्ति–सुरक्षामा असर पुग्ने गतिविधि तथा कुनै पनि समुदायविरुद्ध घृणा फैलाउने अभिव्यक्तिबाट सबैलाई संयमित रहन आग्रह गरेको छ।