सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वमा नयाँ सरकार गठनको तयारी तीव्र भइरहेका बेला पार्टीभित्र मन्त्री बन्ने आकांक्षीहरूको दौड सुरु भएको छ। सरकार गठनअघि नै नेताहरू शीर्ष नेतृत्वसँग भेटघाट र लबिङमा सक्रिय बनेका छन्।
पार्टी स्रोतका अनुसार मन्त्री बन्ने होडमा उपसभामुख यसुदा न्यौपानेदेखि यसअघि सरकारमा सहभागी भइसकेका नेतासम्म छन्। केही नेताले आफूलाई कम्तीमा छ महिनाका लागि भए पनि मन्त्री बनाइदिन शीर्ष नेतृत्वसँग आग्रह गरिरहेको स्रोतको दाबी छ।
नेकपाका एक नेताले भने, "सरकार गठन हुनुअघि नै मन्त्रीको सूचीमा नाम पार्न सबैको दौडधुप चलिरहेको छ।"
नेकपाबाट मंगलबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरिरहेका छन्। यस्तै यसअघि मन्त्री बनेका रणसिंह परियार, उर्मिला विश्वकर्मा, वीरबहादुर शाही, कृष्णबहादुर जिसी, भीप्रकाश शर्मा, दुर्गाबहादुर रावत र महेन्द्र केसीले पनि पुनः सरकारमा सहभागी हुने इच्छा व्यक्त गरेका छन्।
यता तत्कालीन एकीकृत समाजवादीबाट समानुपातिक सांसद बनेकी कल्याणी खड्काले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको चर्चा पार्टीभित्र छ। यद्यपि केही नेताले एकीकरणपछि संगठनात्मक आधार कमजोर रहेको पक्षबाट आएको नेतृत्वले सिधै मुख्यमन्त्री दाबी गर्नु स्वाभाविक नभएको टिप्पणी गरेका छन्।
यसअघि सरकारमा सहभागी भइसकेका नेताहरूले पुनः अवसर खोजेपछि अहिलेसम्म कुनै जिम्मेवारी नपाएका सांसदहरूले अवसरको समान वितरण हुनुपर्ने आवाज उठाएका छन्।
एक प्रदेशसभा सदस्यले भने, "अवसर नपाएका साथीहरूलाई जिम्मेवारी दिनु स्वाभाविक हो। प्रत्येक पटक उही व्यक्तिहरू मन्त्री बन्ने हो भने नयाँ पुस्ता र अवसर नपाएकाहरूको मनोबल कमजोर हुन्छ।"
हाल पार्टीका १४ प्रदेशसभा सदस्यमध्ये अधिकांशले मन्त्री वा विषयगत समितिको सभापति जस्ता जिम्मेवारी पाइसकेका छन्। तर सुर्खेतका विन्दामान विष्ट, हुम्लाकी जुम्कित लामा र रुकुम पश्चिमकी मिलन खड्कालगायत सांसदले अहिलेसम्म सरकारमा अवसर पाएका छैनन्।
नेकपा कर्णाली प्रदेश अध्यक्ष विमला केसीले सरकारमा सहभागी हुनेहरूको छनोट निश्चित मापदण्डका आधारमा गरिने बताएकी छन्।
उनका अनुसार यसअघि मन्त्री भएकाहरूको कार्यसम्पादन, अवसर नपाएकाहरूलाई प्राथमिकता तथा समावेशी प्रतिनिधित्वलाई आधार बनाएर अन्तिम निर्णय गरिनेछ।
उपसभामुख यसुदा न्यौपानेको नाम पनि मन्त्री बन्ने सम्भावित सूचीमा चर्चामा छ। पार्टी स्रोतका अनुसार अघिल्लो पटक मन्त्री बन्ने सम्भावना टरेपछि उनलाई उपसभामुख बनाइएको थियो। अहिले भने उनले उपसभामुख पदबाट राजीनामा दिएर सरकारमा जाने तयारी गरिरहेको चर्चा पार्टीभित्र छ।
यसबीच न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा द्वन्द्वकालीन तस्बिर सार्वजनिक गर्दै "यही इतिहास बोकेर आएकोले होला, झुटको खेती गर्न कहिल्यै आएन" भन्ने स्टाटस लेखेकी छन्। पार्टीभित्र उक्त अभिव्यक्तिलाई वर्तमान राजनीतिक घटनाक्रमसँग जोडेर पनि हेरिएको छ।
कर्णालीमा नयाँ सरकार गठनको अन्तिम तयारी भइरहेका बेला मन्त्री पदका लागि देखिएको तीव्र प्रतिस्पर्धाले नेकपाभित्र अवसर बाँडफाँट, समावेशिता र नेतृत्व व्यवस्थापनको विषयलाई थप पेचिलो बनाएको छ। अहिले सबैको नजर मुख्यमन्त्री चयनसँगै सार्वजनिक हुने मन्त्रिपरिषद्को सूचीमा केन्द्रित भएको छ।