काठमाडौं । नेपाल राष्ट्र बैंकले छाप्ने नयाँ एक रुपैयाँको सिक्काको डिजाइनलाई लिएर यतिबेला व्यापक चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा साविकको सिक्कामा रहेको नेपालको नक्सा हटाएर मुस्ताङस्थित ऐतिहासिक लो घेकेर (घार) गुम्बा राख्नेदेखि आकाश भैरवको प्रतिमा समावेश गर्ने विभिन्न नमुना डिजाइनहरू सार्वजनिक भइरहेका छन्। तर, सिक्काको अन्तिम डिजाइनबारे राष्ट्र बैंकभित्रै फरक–फरक धारणा सार्वजनिक भएपछि विषय थप चर्चामा आएको छ।
राष्ट्र बैंक स्रोतका अनुसार सरकारको प्रस्तावमा नोट तथा सिक्का डिजाइन तथा छपाइ समितिको सिफारिसपछि सञ्चालक समितिले एक रुपैयाँको सिक्कामा रहेको नेपालको नक्सा हटाएर मुस्ताङको लो घेकेर गुम्बाको आकृति राख्ने प्रस्ताव स्वीकृत गरिसकेको छ। स्रोतका अनुसार उक्त प्रस्ताव असार २२ वा २३ गतेतिर बसेको बोर्ड बैठकबाट अनुमोदन गरिएको थियो।
स्रोतले भने, “सरकारबाट आएको प्रस्तावअनुसार नै बोर्डले स्वीकृति दिएको हो। त्यसपछि सिक्काको डिजाइन परिवर्तनसम्बन्धी अर्को कुनै प्रस्ताव बोर्डमा आएको छैन।”
यसपछि असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँका सिक्का टकमरी (मिन्टिङ) गर्न स्वीकृति दिएको थियो। यद्यपि सरकारले सार्वजनिक गरेको निर्णयमा सिक्काको डिजाइन, रङ, आकार वा प्रतिमाबारे कुनै विवरण उल्लेख गरिएको छैन।
राष्ट्र बैंकले नयाँ सिक्काको उत्पादन लागत घटाउने उद्देश्यले एक रुपैयाँको सिक्काको रङ, आकार र तौल परिवर्तन गर्ने तयारी पनि गरेको छ।
हाल प्रयोगमा रहेको सुनौलो (गोल्डेन) रङको सिक्कालाई चाँदीजस्तो (सिल्भर) बनाउने, सिक्काको आकार सानो गर्ने तथा तौल ४ ग्रामबाट घटाएर ३.५ ग्राम वा त्यसभन्दा कम बनाउने प्रस्ताव गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार अहिलेको सिक्का उत्पादनमा लागत बढी पर्ने भएकाले धातु र आकार परिवर्तन गरेर खर्च घटाउने योजना बनाइएको हो।
उनले भने, “हालको मिश्रित धातुबाट बनेको सुनौलो सिक्का समयसँगै रङ परिवर्तन हुने समस्या देखिन्छ। सिल्भर रङको धातु प्रयोग गर्दा टिकाउ हुने र उत्पादन लागत पनि घट्ने अपेक्षा गरिएको छ।”
राष्ट्र बैंकका अनुसार हाल एक रुपैयाँको एउटा सिक्का उत्पादन गर्न करिब २ रुपैयाँ ३५ पैसाभन्दा बढी खर्च लाग्ने गरेको छ। धातु र आकार परिवर्तन गरेपछि यो लागत घट्ने अपेक्षा गरिएको छ।
सिक्कामा नेपालको नक्सा रहने वा नरहने विषयमा भने राष्ट्र बैंकभित्रै फरक मत देखिएको छ।
जहाँ बोर्ड स्रोतले एक रुपैयाँको सिक्काबाट नेपालको नक्सा हटाएर लो घेकेर गुम्बा राख्ने प्रस्ताव स्वीकृत भएको दाबी गरेको छ, त्यहीँ राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भने सिक्कामा नेपालको नक्सा यथावत् रहने बताएका छन्।
उनका अनुसार गुम्बा वा आकाश भैरवमध्ये कुन प्रतिमा राख्ने भन्ने विषयमा अझै अन्तिम निर्णय नभएको र नक्सासहितकै सिक्का टकमरी हुने विश्वास गर्न सकिने अवस्था रहेको छ।
यसले सिक्काको अन्तिम डिजाइनबारे अझै स्पष्टता नआएको देखिएको छ।
उपल्लो मुस्ताङको लो घेकेर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको लो घेकेर (घार) गुम्बा नेपालका सबैभन्दा प्राचीन बौद्ध गुम्बामध्ये एक मानिन्छ। आठौँ शताब्दीमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) ले स्थापना गरेको विश्वास गरिएको यो गुम्बा तिब्बती बौद्ध धर्मको न्यिङमा सम्प्रदायसँग सम्बन्धित छ।
इतिहासकारहरूका अनुसार यो गुम्बा तिब्बतको प्रसिद्ध सम्ये गुम्बाभन्दा पनि पुरानो हुनसक्ने विश्वास छ। २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि यसको पुनर्निर्माण र संरक्षणको काम विभिन्न निकायको सहयोगमा भइरहेको छ।
यद्यपि, यही गुम्बालाई राष्ट्रिय सिक्कामा समावेश गर्ने तयारीबारे सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै भइरहेको छ। कतिपयले नेपालको चुच्चे नक्सा हटाउने प्रयासको आलोचना गरेका छन् भने सरकारले भने यसबारे औपचारिक रूपमा अन्तिम डिजाइन सार्वजनिक गरेको छैन।
सिक्काको वास्तविक स्वरूप कस्तो हुनेछ भन्ने विषयमा राष्ट्र बैंक वा सरकारले आधिकारिक नमुना सार्वजनिक नगरेसम्म अन्योल कायम रहने देखिएको छ।