गगन थापाको सरकारलाई प्रश्न: ‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?’

1.2k Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्दै सरकारसँग जवाफ माग गरेका छन्।

सोमबार जारी विज्ञप्तिमार्फत सभापति थापाले आइतबार राति भएको घटनामा एक जनाको मृत्यु तथा ९ जना नागरिक घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनको माग गरेका हुन्।

उनले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विज्ञप्तिमा थापाले सरकारसँग प्रश्न गर्दै भनेका छन्, “नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?”

उनका अनुसार सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क र जिम्मेवार हुनुपर्ने थियो। समयमै परिस्थितिको आकलन गरी पर्याप्त समन्वय, सुरक्षा तयारी र सतर्कता अपनाउन सकेको भए यस्तो अवस्था आउन नपर्ने उनको धारणा छ।

थापाले घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

उनले प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम राख्ने गरी परिस्थितिको व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्दै स्थानीयवासी, नागरिक समाज, राजनीतिक दल तथा सबै सरोकारवालालाई अफवाह र उत्तेजनाबाट टाढा रहँदै सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अपिल गरेका छन्।

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा एक जनाको मृत्यु भएको थियो भने नागरिक र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। घटनापछि सरकारले छानबिन समिति गठन गर्नुका साथै सुरक्षा निकायका केही प्रमुखहरूको जिम्मेवारीसमेत हेरफेर गरेको छ।

सम्बन्धित समाचार