सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
1.6k
Shares
धरान । सुनसरीमा हालै भएको घटनापछि जिल्लाको शान्ति, सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम राख्न सर्वपक्षीय बैठकले साझा प्रतिबद्धता जनाएको छ।
जिल्ला प्रशासन कार्यालयको पहलमा बसेको बैठकमा राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, धार्मिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो।
बैठकले कुनै पनि घटनालाई जातीय, धार्मिक वा साम्प्रदायिक रंग नदिन र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ। बैठकमा सहभागीहरूले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा द्वेष फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन्।
अपुष्ट सूचना वा भ्रामक सामग्री साझा नगर्न तथा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न हुनेमाथि कानुनअनुसार कारबाही गरिनेमा पनि सहमति भएको छ।
यस्तै, स्थानीय समुदायबीच आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउँदै शान्तिपूर्ण वातावरण कायम राख्न सबै राजनीतिक दल र समुदायले संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कुनै पनि असन्तुष्टि वा विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने तथा हिंसा वा उक्साहटबाट टाढा रहन बैठकले सबै नागरिकलाई अपिल गरेको छ।
यसअघि सुनसरीमा भएको घटनाको छानबिनका लागि सरकारले पाँच सदस्यीय समिति गठन गरिसकेको छ। घटनाको अनुसन्धान जारी रहेकाले प्रशासनले संयमता अपनाउन, कानुन हातमा नलिन र शान्ति–सुरक्षा कायम राख्न सबैसँग सहयोगको अपेक्षा गरेको छ।