वासिङ्टन – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि मंगलबार वासिङ्टन पुग्ने भएका छन्। अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियसका अनुसार दुई नेताबीच ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता तय भएको छ।
रूसले पछिल्लो समय युक्रेनमाथिको आक्रमण तीव्र बनाइरहेका बेला हुन लागेको यो भेटलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ। यता युक्रेनले पनि रुसभित्रका रणनीतिक लक्ष्यविरुद्ध लामो दूरीका ड्रोन आक्रमणलाई निरन्तरता दिइरहेको छ।
ट्रम्प र जेलेन्स्कीबीच यसअघि यही महिना टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनका क्रममा पनि भेट भएको थियो। त्यस अवसरमा उनीहरूले युक्रेनको हवाई प्रतिरक्षा क्षमता थप सुदृढ बनाउने तथा युद्ध अन्त्यका लागि कूटनीतिक पहललाई अघि बढाउने विषयमा छलफल गरेका थिए।
पछिल्लो समय अमेरिका इरानसँगको तनाव र सैन्य गतिविधिमा केन्द्रित भएकाले रूस–युक्रेन युद्ध अन्त्यका प्रयास केही ओझेलमा परेको विश्लेषण गरिएको छ। इरानसँगको तनाव बढ्नुअघि राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पटक–पटक संवाद गर्दै युद्ध अन्त्यका लागि पहल गरेका थिए। यद्यपि ती प्रयासले हालसम्म ठोस परिणाम दिन सकेका छैनन्।
यसपटकको भेटमा युद्धको पछिल्लो अवस्था, युक्रेनलाई अमेरिकी सहयोग, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण तथा सम्भावित शान्ति वार्ताबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीचको सम्बन्ध भने यसअघि विवादरहित रहन सकेको थिएन। उनीहरूको पहिलो औपचारिक भेटका क्रममा दुवै नेताबीच चर्को भनाभन भएको घटनाले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको थियो। त्यसपछि हुन लागेको यो भेटलाई दुई देशबीचको सम्बन्ध र युद्ध समाधानका प्रयासका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।