बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रमुख राजनीतिक दलहरूले आन्तरिक तथा अन्तरदलीय छलफललाई तीव्र बनाएका छन्। नेकपा (एमाले) ले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशको सत्ता समीकरण फेरिएको छ र नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।
बागमती प्रदेशसभामा हाल १०४ सदस्य रहेका छन्। कांग्रेससँग ३६, नेकपासँग २६, एमालेसँग २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद छन्। सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ।
केन्द्रमा एमाले–नेकपाबीच सत्ता सहकार्यको सहमति भए पनि बागमती प्रदेशमा यी दुई दलको मात्रै संख्या बहुमतका लागि पर्याप्त छैन। त्यसैले दुवै दलले अन्य दलहरूको समर्थन जुटाउने प्रयास गरिरहेका छन्। विशेषगरी राप्रपाको भूमिका निर्णायक बन्न सक्ने आकलन गरिएको छ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार गठनका लागि सम्भावित साझेदार दलहरूसँग निरन्तर संवाद भइरहेको बताएका छन्। यता प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने रणनीतिसहित राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग छलफल अघि बढाएको जनाएको छ।
प्रदेशमा स्पष्ट बहुमत नपुगेका कारण सरकार गठनको अंकगणित जटिल बनेको छ। त्यसैले आगामी केही दिन दलहरूबीचको वार्ता, समर्थनको समीकरण र साना दलहरूको निर्णयले बागमती प्रदेशको नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने अपेक्षा गरिएको छ।