इनरुवा, साउन ११ — सुनसरीमा दुई समूहबीच भएको झडपपछि सुरक्षा अवस्था तनावपूर्ण बनेसँगै जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच संवेदनशील बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु लागू गरेको जनाएको छ। प्रशासनका अनुसार शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु जारी गरिएको हो।
कर्फ्यु आदेशअनुसार हरिनगर बजारको पूर्वमा नुनियतोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्मको क्षेत्र समेटिएको छ।
त्यसैगरी, भुटाहा बजारको पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यु लागू गरिएको छ।
कप्तानगञ्ज बजारमा पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमासम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ।
यस्तै, घुस्की बजारको पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु आदेश लागू गरिएको छ।
देवानगञ्ज बजारमा पूर्वतर्फ विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय परिसरसम्म कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै संवेदनशील क्षेत्र पहिचान गरी कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए। उनका अनुसार अर्को सूचना जारी नभएसम्म कर्फ्यु कायम रहनेछ।