मकवानपुर र लमजुङमा भारी वर्षा, बाढी–पहिरोको उच्च जोखिम

3.9k Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मकवानपुर र लमजुङका केही क्षेत्रमा लगातार भारी वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लालबकैया नदीमा जलसतह बढ्दै बाढी आउन सक्ने सम्भावना रहेको छ। नदी आसपासका डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म विशेष सतर्क रहन विभागले अनुरोध गरेको छ।

यस्तै, लमजुङको घरेडुङ र आसपासका क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ भने थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। निरन्तर वर्षाका कारण स–साना खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने र बाढी तथा पहिरोको जोखिम उच्च रहेकाले स्थानीय बासिन्दा तथा यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

विभागले वर्षाका कारण नदी तथा खोलानालाको सतह बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न पनि आग्रह गरेको छ।

सम्बन्धित समाचार