१०० दिनपछि अमेरिकी चुनाव : ट्रम्पका रिपब्लिकन दबाबमा

897 Shares

वासिङ्टन : संयुक्त राज्य अमेरिकाको मध्यावधि निर्वाचन हुन अब १०० दिन मात्र बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी प्रतिनिधिसभाको बहुमत जोगाउने र सिनेटमा आफ्नो नियन्त्रण कायम राख्ने कठिन प्रतिस्पर्धामा देखिएको छ। चुनावमा ट्रम्प उम्मेदवार नभए पनि यसको नतिजाले उनको बाँकी कार्यकालको राजनीतिक दिशा तय गर्ने विश्लेषण गरिएको छ।

डेमोक्र्याटले प्रतिनिधिसभामा बहुमत हासिल गरेमा उनीहरूले संसदीय समितिको नेतृत्वसँगै ट्रम्प प्रशासनमाथि व्यापक छानबिन गर्ने अधिकार प्राप्त गर्नेछन्। त्यसले प्रशासनका निर्णयमाथि अनुसन्धान बढ्नुका साथै ट्रम्पविरुद्ध फेरि महाभियोगको प्रयाससमेत हुन सक्ने आकलन गरिएको छ।

रिपब्लिकन यसपटक साँघुरो संसदीय बहुमत, ट्रम्पको घट्दो लोकप्रियता, बढ्दो महँगी र इरानसँगको युद्धका कारण मतदातामा बढेको असन्तुष्टिबीच चुनावी मैदानमा उत्रिएका छन्। अमेरिकी चुनाव विश्लेषण गर्ने संस्था डिसिजन डेस्क मुख्यालयले प्रतिनिधिसभामा डेमोक्र्याटले बहुमत हासिल गर्ने सम्भावना ५९ प्रतिशत रहेको प्रक्षेपण गरेको छ। संस्थाले डेमोक्र्याटको सम्भावित सिट संख्या २२४ र रिपब्लिकनको २११ रहने अनुमान गरेको छ।

अमेरिकी अर्थतन्त्रमा मुद्रास्फीति, बढ्दो ब्याजदर, ऊर्जा मूल्यवृद्धि र पेट्रोलको मूल्य प्रतिग्यालोन चार डलरभन्दा माथि पुग्नुजस्ता विषय चुनावी बहसका मुख्य एजेन्डा बनेका छन्। डेमोक्र्याटहरूले स्वास्थ्य सेवा, महँगी र आप्रवासनजस्ता मुद्दामा मतदाताको विश्वास आफ्नो पक्षमा बढ्दै गएको दाबी गरेका छन्।

हाउस डेमोक्र्याटिक नेता हकीम जेफ्रीजले किराना, इन्धन, आवास र स्वास्थ्य सेवाको बढ्दो लागतलाई केन्द्रमा राखेर चुनावी अभियान सुरु गर्दै ट्रम्प प्रशासनले अमेरिकी जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाएका छन्।

यता रिपब्लिकनले भने आगामी निर्वाचनलाई ‘सामान्य बुद्धिमत्ता’ र डेमोक्र्याटहरूको ‘प्रगतिशील एजेन्डा’बीचको प्रतिस्पर्धाका रूपमा प्रस्तुत गर्ने रणनीति बनाएका छन्। उनीहरूले सीमा सुरक्षा, कर कटौती र निर्वाचन सुरक्षालाई प्रमुख चुनावी मुद्दा बनाउने तयारी गरेका छन्।

राष्ट्रपति ट्रम्पले पनि ‘सेभ अमेरिका ऐन’ पारित गर्न रिपब्लिकन सांसदहरूलाई दबाब दिँदै आएका छन्। उनका अनुसार उक्त विधेयकले निर्वाचनमा हुने धाँधली रोक्न सहयोग पुर्‍याउनेछ। तर डेमोक्र्याटहरूले यसलाई वैध मतदातालाई मतदानबाट वञ्चित गराउने प्रयासको रूपमा आलोचना गरेका छन्।

निर्वाचनअघि दुवै दलले निर्वाचन क्षेत्र पुनःनिर्धारण (रेडिस्ट्रिक्टिङ) मार्फत आफ्नो पक्षमा परिणाम पार्ने प्रयाससमेत गरिरहेका छन्। विश्लेषकहरूका अनुसार यसले केही प्रतिस्पर्धी निर्वाचन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

सिनेटमा पनि प्रतिस्पर्धा कम रोचक छैन। हाल रिपब्लिकनसँग ५३–४७ को बहुमत रहेकाले डेमोक्र्याटलाई नियन्त्रण हात पार्न कम्तीमा चार सिटको खुद लाभ आवश्यक पर्नेछ। यद्यपि ५०–५० को बराबरीको अवस्था आए पनि उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतका कारण रिपब्लिकनले सिनेटको नियन्त्रण कायम राख्न सक्ने अनुमान गरिएको छ।

राजनीतिक विश्लेषक चक टोडका अनुसार केही महिनाअघि स्पष्ट अग्रतामा देखिएको रिपब्लिकन अहिले झिनो अग्रतामा सीमित भएको छ। उनका अनुसार प्रतिनिधिसभामा डेमोक्र्याटले १० देखि २५ सिटसम्म थप्न सक्ने सम्भावना रहेको छ।

इकोनोमिस्ट/युगोभको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको कार्यसम्पादनप्रति ३६ प्रतिशत अमेरिकी मात्र सन्तुष्ट छन्। विश्लेषकहरूका अनुसार राष्ट्रपतिको अनुमोदन दर कमजोर रहनुले मध्यावधि निर्वाचनमा रिपब्लिकनले प्रतिनिधिसभाको बहुमत गुमाउने जोखिम बढाएको छ।

सम्बन्धित समाचार