१३ दिनपछि ट्रम्पले रोके हवाई आक्रमण, इरानसँग संवादलाई प्राथमिकता

10.6k Shares

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको दैनिक हवाई आक्रमण रोक्न अमेरिकी सेनालाई निर्देशन दिएका छन्। लगातार १३ दिनसम्म आक्रमणको स्वीकृति दिएका ट्रम्पले पहिलोपटक सैन्य कारबाही रोक्दै कूटनीतिक समाधानका लागि थप समय दिने संकेत गरेका हुन्।

अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियसका अनुसार शुक्रबारदेखि इरानमा कुनै नयाँ अमेरिकी हमला भएको छैन। यसअघि अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले हरेक दिन इरानमा गरिएको आक्रमणबारे सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै आएको थियो। तर पछिल्ला दुई दिनदेखि सेन्टकमले कुनै नयाँ सैन्य कारबाहीबारे जानकारी दिएको छैन।

अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले शुक्रबार पनि इरानमाथि आक्रमण गर्ने सेनाको प्रस्ताव अस्वीकार गर्दै तत्कालका लागि कारबाही रोक्न निर्देशन दिएका थिए। स्रोतहरूका अनुसार हालसम्म भएका हवाई आक्रमणले आफ्नो उद्देश्यको सीमा लगभग पूरा गरिसकेको निष्कर्षमा ट्रम्प पुगेका छन्।

यद्यपि अमेरिकी सेना आवश्यक परे छोटो समयमै पुनः आक्रमण सुरु गर्न पूर्ण रूपमा तयार रहेको जनाइएको छ। इरानविरुद्धका सम्भावित थप सैन्य अभियानका योजना पनि तयारी अवस्थामा राखिएको भए पनि त्यससम्बन्धी अन्तिम आदेश ट्रम्पले दिएका छैनन्।

निर्णयपछि ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफूसँग सैन्य कारबाहीलाई अझ व्यापक बनाउने विकल्प भए पनि वार्तामार्फत समाधान खोज्नु नै बुद्धिमानी हुने बताएका छन्।

‘हामीले चाहे उनीहरूसँग भएका सबै कुरा ध्वस्त पार्न सक्छौं। तर मेरो विचारमा अहिलेको सबैभन्दा बुद्धिमानी रणनीति भनेको सम्झौतामार्फत समाधान खोज्नु हो,’ ट्रम्पले भने।

उनले इरानसँग वार्ता जारी रहेको र तेहरान पछिल्ला दिनमा छलफलप्रति गम्भीर बन्दै गएको दाबी गरे। यद्यपि शुक्रबार साँझ आयोजित अर्को कार्यक्रममा भने ट्रम्पले तत्कालै इरान सम्झौताका लागि तयार भइसकेको आफूलाई नलागेको बताए।

यसबीच, सम्भावित अमेरिकी आक्रमणको आशंकामा इसराइलले शुक्रबार उच्च सुरक्षा सतर्कता अपनाएको थियो। अमेरिकी आक्रमणपछि इरानले प्रतिशोधात्मक हमला गर्न सक्ने आकलन गर्दै इसराइली सुरक्षा निकाय तयारी अवस्थामा बसेका थिए। तर अमेरिका थप सैन्य कारबाही नगर्ने निर्णयमा पुगेको जानकारी इसराइलले शुक्रबार राति मात्रै प्राप्त गरेको बताइएको छ।

ट्रम्पको निर्णय ओमानको प्रतिनिधिमण्डल तेहरान पुगेको केही घण्टापछि आएको हो। उक्त टोली इरानसँग हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषयमा नयाँ सहमतिका लागि वार्ता गर्न तेहरान पुगेको थियो।

क्षेत्रीय स्रोतहरूका अनुसार ओमान र इरानबीचको वार्तामा उल्लेखनीय प्रगति भएको छ। सप्ताहन्तभित्रै प्रारम्भिक सहमति हुन सक्ने सम्भावना रहेको र त्यसलाई स्वीकार गर्ने वा नगर्ने अन्तिम निर्णय राष्ट्रपति ट्रम्पले गर्ने बताइएको छ।

हालको घटनाक्रमले अमेरिकाले एकातिर सैन्य दबाब कायम राख्ने र अर्कोतर्फ कूटनीतिक वार्तामार्फत समाधान खोज्ने दोहोरो रणनीति अपनाएको संकेत गरेको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार