बुटवल। प्रमुख दुई वाम शक्तिबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ। कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले आइतबार नै राजीनामा दिने तयारी गरेका छन्।
कांग्रेसबाट सरकारमा सहभागी सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसँग छलफल भइसकेको र सरकारबाट बाहिरिने निर्णयअनुसार राजीनामा बुझाउने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार सम्भव भएसम्म आइतबार बेलुकासम्म, नभए सोमबारसम्म मन्त्रीहरूले राजीनामा दिने र कांग्रेसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेछ। साथै नयाँ सरकारलाई शुभकामना दिँदै प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारी रहेको उनले बताए।
हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको थियो। उक्त सहमतिअनुसार लुम्बिनी, कोशी र बागमती प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछ। मधेस र गण्डकी प्रदेशमा भने अन्य राजनीतिक दलसँग परामर्श गरेर सरकार गठन गर्ने समझदारी भएको जनाइएको छ।
यस सहमतिसँगै लुम्बिनी प्रदेशको सत्ता समीकरण परिवर्तन हुने निश्चित देखिएको छ।