काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाले परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
साउन ८ गते सञ्चालन भएको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘एमबिएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप समूहमा साझा गरिएको दाबी गरिएको छ। फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले उक्त समूहका स्क्रिनसट सार्वजनिक गर्दै त्रिविको ध्यानाकर्षण गराएको थियो।
सार्वजनिक स्क्रिनसटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिन्छ। त्यसपछि समूहका एक सदस्यले ‘सर, सोलुसन पनि पठाइदिनु न’ भनेर अनुरोध गरेका छन्। केही मिनेटपछि सोही व्यक्तिबाट अर्को पीडीएफ फाइल पठाइएको देखिए पनि त्यसमा के सामग्री थियो भन्ने खुलेको छैन।
त्यसै समूहका अर्का सदस्यले आगामी ‘इकोनोमिक्स’ विषयको परीक्षामा ढिलो पुग्ने उल्लेख गर्दै प्रश्नपत्र यसैगरी पठाइदिन अनुरोध गरेको सन्देश पनि सार्वजनिक भएको छ। उक्त ह्वाट्सएप समूहमा एक हजारभन्दा बढी सदस्य रहेको बताइएको छ।
घटनापछि त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई औपचारिक पत्राचार गर्दै घटनाको अनुसन्धान गरी संलग्न व्यक्ति, संस्था वा परीक्षा केन्द्रको पहिचान गरेर कानुनी कारबाही गर्न अनुरोध गरेको छ।
यस्तै, परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य छानबिन गर्न प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्।
छानबिन समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको त्रिविले जनाएको छ।