सरकार बनाउने खेल नदोहोर्‍याउन आग्रह गरेका प्रचण्ड भोलिपल्टै प्रदेश सत्ता समीकरणमा

1.2k Shares

काठमाडौं । सरकार बनाउने र गिराउने खेलमा फेरि लागे सबै राजनीतिक शक्ति कमजोर बन्न सक्ने चेतावनी दिएका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलिपल्टै प्रदेश सरकार गठनको नयाँ समीकरणमा सहभागी भएका छन्।

साउन ८ गते पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले सरकार बनाउने–गिराउने पुरानै अभ्यास दोहोरिए राजनीतिक रूपमा गम्भीर क्षति हुन सक्ने बताएका थिए। उनले ‘ठूला गफभन्दा अब काममा केन्द्रित हुनुपर्ने’ धारणा पनि राखेका थिए।

तर उक्त अभिव्यक्ति दिएको २४ घण्टा नबित्दै प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न प्रदेशमा नयाँ सरकार गठनका लागि सहकार्य गर्ने समझदारी भएको छ।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा तथा कर्णाली र सुदूरपश्चिममा नेकपाको नेतृत्वमा सरकार बनाउने तयारी छ। गण्डकी र मधेश प्रदेशमा भने अन्य दलको सहयोगमा सरकार गठन गर्ने रणनीति बनाइएको बताइएको छ।

प्रचण्डले भने प्रदेश सरकारहरूलाई अस्थिर हुन नदिन तत्काल कार्यगत एकता आवश्यक रहेको धारणा दोहोर्‍याएका छन्। बजेटका विषयमा कांग्रेस र एमालेबीच देखिएको विवादका कारण प्रदेशमा सहकार्य अपरिहार्य बनेको उनको भनाइ छ।

प्रदेशस्तरको सहकार्यसँगै कम्युनिस्ट शक्तिहरू फेरि एकताबद्ध हुने चर्चा चलिरहेका बेला प्रचण्डले तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारे। उनले प्रदेशमा इमान्दारितापूर्वक सहकार्य गर्न सके भविष्यमा एकताको वातावरण बन्न सक्ने बताए।

उनका अनुसार विगतको अनुभवको गम्भीर समीक्षा नगरी हतारमा पार्टी एकता गर्नु उपयुक्त हुँदैन। पहिलेको एकताको कमजोरीबाट पाठ सिकेर मात्र भविष्यका निर्णय लिनुपर्ने उनको धारणा थियो।

प्रदेश सरकारको नयाँ समीकरणसँगै राष्ट्रिय राजनीतिमा एमाले–नेकपाबीचको सहकार्यले आगामी राजनीतिक घटनाक्रममा नयाँ बहस सुरु भएको छ।

सम्बन्धित समाचार