चराको राजधानी कोशीटप्पु : ५३५ प्रजातिका चराको सुरक्षित आश्रयस्थल

1.8k Shares

वराहक्षेत्र । पूर्वी नेपालको प्राकृतिक सम्पदामध्ये एक मानिने कोशीटप्पु वन्यजन्तु आरक्ष हरेक बिहान चराको चिरबिरले गुञ्जिने अनुपम गन्तव्य बनेको छ। सप्तकोशी नदी किनारको सिमसार, घाँसेमैदान र फाँटमा उड्ने चराका बथानले आरक्षलाई वर्षभरि जीवन्त बनाइरहेका छन्।

कोशी र मधेश प्रदेशका सुनसरी, सप्तरी तथा उदयपुर जिल्लामा फैलिएको १७५ वर्ग किलोमिटर क्षेत्रफलको यस आरक्षमा दुर्लभ तथा बसाइँसराइ गर्ने चराहरू प्रत्येक वर्ष आउने गरेका छन्। आरक्षका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार साइबेरिया, मङ्गोलिया र मध्य एसियाका विभिन्न भूभागबाट हजारौँ किलोमिटर यात्रा गरेर चरा जाडो छल्न कोशीटप्पु पुग्ने गर्छन्।

आरक्ष कार्यालयका अनुसार हालसम्म यहाँ ५३५ प्रजातिका चराको अभिलेख गरिएको छ। चरासँगै ४० प्रजातिका स्तनधारी, १४१ प्रजातिका माछा, ७७ प्रजातिका पुतली, ५७ प्रजातिका ढाड नभएका जनावर, १८ प्रकारका जडीबुटी, ३३ प्रकारका डालेघाँस, २२ प्रकारका खानयोग्य वनस्पति तथा १२ प्रकारका उन्यु पाइन्छन्। हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर र अजिङ्गरजस्ता वन्यजन्तु पनि यहाँ सहजै देख्न सकिन्छ।

जलचर, सिमसारमा आश्रित तथा सिकारी चराको उल्लेखनीय उपस्थितिका कारण कोशीटप्पुले अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रको पहिचान बनाएको छ। सन् १९८७ डिसेम्बर १७ मा यसलाई नेपालको पहिलो रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो। आरक्ष दुर्लभ जङ्गली अर्नाको प्रमुख बासस्थानका रूपमा पनि परिचित छ।

चराअवलोकनका लागि हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटक कोशीटप्पु पुग्ने गरेका छन्। स्थानीय नेचर गाइड विमल तिम्सिनाका अनुसार पछिल्ला वर्षमा होमस्टे, डुङ्गा सयर र प्रकृति पदयात्राप्रति आन्तरिक पर्यटकको आकर्षण बढेको छ, जसले स्थानीय पर्यटन व्यवसायलाई समेत टेवा पुर्‍याएको छ।

यद्यपि, आरक्षको संरक्षणमा चुनौती पनि बढ्दै गएको छ। चराविज्ञ अनिष तिम्सिनाका अनुसार सप्तकोशी नदीको बदलिँदो धार, बाढी, मिचाहा वनस्पतिको विस्तार, जलवायु परिवर्तन तथा बढ्दो मानवीय गतिविधिका कारण चराको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ। खेतबारीमा अत्यधिक प्रयोग हुने किटनाशक विषादीले चराको आहारा र प्राकृतिक वातावरणमा समेत नकारात्मक असर पारिरहेको उहाँको भनाइ छ।

विशेषज्ञहरूले कोशीटप्पुको जैविक विविधता संरक्षणलाई सबैको साझा जिम्मेवारी भएको बताएका छन्। संरक्षणलाई प्रभावकारी बनाउन सके कोशीटप्पुले प्रकृतिको सन्तुलन कायम राख्नुका साथै पर्यटन, अध्ययन–अनुसन्धान र स्थानीय अर्थतन्त्रलाई दीर्घकालीन रूपमा बल पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार