नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले बाँकेमा विद्युत् चुहावट नियन्त्रणसँगै ग्राहकका गुनासा सुन्ने र सेवा सुधार गर्ने अभियानलाई तीव्र बनाएको छ। अभियानअन्तर्गत गरिएको फिल्ड निरीक्षणमा २१ वटा बेवारिसे विद्युत् मिटर फेला परेका छन्।
वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार विद्युत् चुहावटको अवस्था पहिचान गरी राजस्व वृद्धि तथा ग्राहकका समस्या समाधान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
उनका अनुसार फेला परेका २१ बेवारिसे मिटरमध्ये १६ वटा खजुरा गाउँपालिकाका ग्रामीण क्षेत्रमा र पाँच वटा नेपालगन्ज उपमहानगरपालिकामा रहेका छन्। ती मिटरमार्फत तीन लाखभन्दा बढी युनिट विद्युत् खपत भएको पहिचान गरिएको छ। उक्त विद्युत् खपतलाई राजस्व दायरामा ल्याई लगत कायम गर्ने प्रक्रिया सुरु गरिएको प्रमुख मिश्रले जानकारी दिए।
अभियानका क्रममा कतिपय स्थानमा मिटर जडान नगरी घर तथा खेतमा विद्युत् प्रयोग भइरहेको समेत फेला परेको छ। उनले चुहावट नियन्त्रण कार्यक्रम प्रभावकारी बन्दै जाँदा विद्युत् चुहावट घट्नुका साथै राजस्व सङ्कलनमा समेत वृद्धि भइरहेको बताए।
प्रमुख मिश्रका अनुसार चुहावट नियन्त्रणसँगै ग्राहकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ फिल्डमै पुगेर गुनासा सुन्ने र आपूर्तिसम्बन्धी समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।
उनले आवश्यक स्थानमा नयाँ ट्रान्सफर्मर जडान, पोल तथा तार विस्तार, क्षमता अभिवृद्धि र नयाँ विद्युत् लाइन विस्तारका काम पनि तीव्र रूपमा अघि बढाइएको जानकारी दिए।
यस्तै, नेपाल विद्युत् प्राधिकरण उपवितरण केन्द्र खजुराका प्रमुख दिनेश वलीको नेतृत्वमा रहेको टोलीले पनि गाउँ–गाउँ पुगेर मिटर परीक्षण, विद्युत् प्रयोगको अनुगमन तथा सेवा सुधारका गतिविधि सञ्चालन गरिरहेको छ। टोलीले स्थलगत निरीक्षणका क्रममा ग्राहकका विभिन्न गुनासा सुनेर धेरै स्थानमा तत्काल समाधानसमेत गरेको जनाएको छ।