गाउँमै पुगेर गुनासा सुन्दै रास्वपा सांसद, समाधानका लागि समन्वयको प्रतिबद्धता

1k Shares

भद्रपुर । झापा–२ की प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगर यतिबेला निर्वाचन क्षेत्रमा नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै गाउँ–गाउँ पुगिरहेकी छन्। स्थानीयका समस्या बुझ्ने, सेवा प्रवाहको अवस्था अनुगमन गर्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उद्देश्यले उनले पछिल्लो एक सातादेखि निरन्तर भेटघाट कार्यक्रम सञ्चालन गरेकी हुन्।

निर्वाचनपछि अधिकांश जनप्रतिनिधि राजधानी केन्द्रित हुने प्रवृत्तिका बीच रानामगरले गाउँबस्तीमै पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेकी छन्। अन्तरक्रियाका क्रममा स्थानीयले सडक, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, वन्यजन्तुको आतंकलगायत दैनिक जीवनसँग सम्बन्धित समस्या खुलस्त रूपमा राखेका छन्। रानामगरले ती गुनासा टिपोट गर्दै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।

कार्यक्रमअन्तर्गत उनले बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडामा पुगेर स्थानीयसँग छलफल गरिन्। त्यसपछि बुद्धशान्ति भागिरथा अस्पतालको निरीक्षण गर्दै अस्पताल प्रशासनसँग सेवा प्रवाह, चुनौती र सुधारका उपायबारे छलफल गरेकी थिइन्। हेलोचोकदेखि दक्षिणको सडक, भोटेटार चोक, गलानगाउँको अधुरो सडक तथा हात्तीकिल्ले पैनी (बिन्धुलीबाँध) क्षेत्रको पनि उनले स्थलगत अवलोकन गरेकी छन्।

स्थानीयले विशेषगरी कृषि थोकबजार व्यवस्थापन, मल–बीउको अभाव, हात्तीको आतंक, पूर्वाधार विकास र शान्ति सुरक्षासम्बन्धी समस्या उठाएको रानामगरले बताइन्।

उनले भनिन्, "बिर्तामोडको कृषि थोकबजार व्यवस्थापन, हात्तीको आतंक, पूर्वाधार विकास तथा समयमै मल–बीउ नपाएको गुनासो धेरै आएको छ। ती समस्या समाधानका लागि हामी निरन्तर क्रियाशील छौँ। नागरिकमा देखिएको आक्रोशलाई पनि हामीले स्वाभाविक रूपमा लिएका छौँ।"

उनका अनुसार सांसदको भूमिका संसद्मा नीति निर्माणमा मात्र सीमित नभई नागरिकका दैनिक समस्या बुझेर सम्बन्धित निकायसँग समन्वय गरी समाधान खोज्नु पनि हो। त्यसैले यस्ता जनसंवाद कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले स्पष्ट पारिन्।

यसैबीच, बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुँदै सांसद रानामगरले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिन्। कार्यक्रममा बोल्दै उनले सुरक्षित, सम्मानजनक र आत्मनिर्भर जीवनका लागि भूमिको अधिकार आधारभूत आवश्यकता भएको बताइन्।

लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गर्दै उनले वर्षौँदेखि भूमिको स्वामित्वको प्रतीक्षामा रहेका परिवारको अनुहारमा देखिएको खुसीले अभियानको सार्थकता पुष्टि गरेको उल्लेख गरिन्।

झापामा रानामगरको यो अभियान एक्लो छैन। रास्वपाबाट निर्वाचित झापा–१ की सांसद तथा सहमहामन्त्री निशा डाँगी, झापा–३ का सांसद प्रकाश पाठक र झापा–४ का सांसद शम्भु सुस्केरा पनि पछिल्लो समय गाउँ–बस्तीमै पुगेर नागरिकसँग प्रत्यक्ष संवादमा व्यस्त छन्।

झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार निर्वाचित भएका थिए। क्षेत्र नं. ५ बाट निर्वाचित सांसद वालेन्द्र शाह हाल प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।

एक सातादेखि सञ्चालन भइरहेको यो जनसंवाद अभियानलाई निर्वाचित जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार