नतिजा विवादपछि अध्ययन समितिको प्रतिवेदन : परीक्षा मूल्याङ्कनमा लापरबाही देखिएन

3.8k Shares

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजालाई लिएर विद्यार्थीले उठाएको असन्तुष्टि र आन्दोलनपछि शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले गठन गरेको अध्ययन समितिले उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ। यद्यपि, परीक्षा प्रणालीलाई अझ विश्वसनीय, पारदर्शी र प्रभावकारी बनाउन केही सुधारात्मक उपाय अवलम्बन गर्न समितिले मन्त्रालयलाई सुझाव दिएको छ।

कक्षा १२ को नतिजा सार्वजनिक भएपछि ठूलो संख्यामा विद्यार्थीले प्राप्ताङ्कप्रति असन्तुष्टि जनाउँदै पुनः परीक्षण र प्रणाली सुधारको मागसहित आन्दोलन गरेका थिए। त्यसपछि मन्त्रालयले गत असार ११ गते मन्त्रालयकै उपसचिव रमा खतिवडाको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो।

समितिलाई उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षा प्राप्ताङ्कको अभिलेख परीक्षण तथा डेटा इन्ट्री भेरिफिकेसन गर्ने जिम्मेवारी दिइएको थियो। समितिले करिब दुई सातासम्म अध्ययन, परीक्षण र अभिलेख विश्लेषण गरी असार ३० गते आफ्नो प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार समितिले उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण प्रक्रियामा लापरबाही भएको पुष्टि हुने कुनै आधार फेला नपरेको निष्कर्ष निकालेको छ। प्रतिवेदन शिक्षा सचिव चूडामणि पौडेललाई बुझाइसकिएको छ।

यद्यपि, समितिले उत्तरपुस्तिका परीक्षण तथा नतिजा व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन विभिन्न सुधारात्मक सुझाव दिएको मन्त्रालयले जनाएको छ। ती सुझाव कार्यान्वयन गरिएमा आगामी वर्षदेखि परीक्षा मूल्याङ्कन प्रक्रिया थप पारदर्शी, व्यवस्थित र त्रुटिरहित बन्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले समितिको प्रतिवेदन अध्ययन गरी आवश्यक सुधारका विषयमा निर्णय लिने जनाएको छ। साथै, राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरेर परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन प्रक्रियामा आवश्यक नीतिगत तथा प्राविधिक सुधार अघि बढाइने तयारी रहेको मन्त्रालयको भनाइ छ।

कक्षा १२ को नतिजापछि उठेको विवादले नेपालको परीक्षा मूल्याङ्कन प्रणालीमाथि प्रश्न उठाए पनि अध्ययन समितिको प्रतिवेदनले प्रणालीगत लापरबाही पुष्टि नगरेको निष्कर्ष सार्वजनिक गरेको छ। अब सुधारका सुझाव कार्यान्वयन हुने वा नहुने विषयमा विद्यार्थी र सरोकारवालाको चासो केन्द्रित भएको छ।

सम्बन्धित समाचार